काठमाडौं- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सरोकारवाला र आम नागरिकसँग सुझाव माग गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार सूचना जारी गर्दै प्रदेशको आवश्यकता, प्राथमिकता र जनचाहनाअनुसार प्रभावकारी तथा परिणाममुखी बजेट निर्माण गर्न सुझाव संकलन सुरु गरिएको जनाएको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजनामन्त्री प्रभात तामाङले आर्थिक, सामाजिक, पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग, वातावरण र सुशासनलगायत क्षेत्रमा समेटिने योजना तथा कार्यक्रमबारे सुझाव दिन आग्रह गरेका छन्। मन्त्रालयका अनुसार सुझाव जेठ १५ गतेसम्म इमेल वा प्रत्यक्ष रूपमा मन्त्रालयमा बुझाउन सकिनेछ।
प्रदेश सरकारले आगामी बजेटलाई उत्पादन, रोजगारी, पूर्वाधार विकास र जनजीविकासँग जोड्ने लक्ष्य लिएको जनाएको छ। बागमती प्रदेश सरकारले जेठ १४ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तथा असार १ गते बजेट ल्याउने तयारी गरेको छ।
प्रतिक्रिया