काठमाडौं- हरेक वर्ष मे २० तारिखका दिन “विश्व मौरी दिवस” मनाइन्छ । यस दिवसको मुख्य उद्देश्य मौरी तथा अन्य परागसेचक जीवहरूको संरक्षण गर्नु र मानव जीवनमा उनीहरूको महत्वबारे जनचेतना फैलाउनु हो । मौरी प्रकृतिको अत्यन्त महत्त्वपूर्ण जीव हो । यसले फूलबाट पराग संकलन गर्ने क्रममा बिरुवामा परागसेचन गराएर फलफूल, तरकारी तथा अन्नबालीको उत्पादन बढाउन ठूलो योगदान पुर्याउँछ । विश्वको धेरै खाद्य उत्पादन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मौरीको परागसेचनमा निर्भर हुन्छ ।
नेपालमा पनि मौरी पालनको परम्परा पुरानो छ । विशेष गरी गाउँघरमा परम्परागत घारमा मौरी पाल्ने चलन अझै पनि देख्न सकिन्छ । नेपालमा मुख्य रूपमा “एपिस सेराना”, “एपिस मलिफेरा” र जंगली मौरी पाइन्छन् । पछिल्लो समय व्यावसायिक मौरी पालनतर्फ युवाहरूको आकर्षण बढ्दै गएको छ । मौरी पालनले कम लगानीमा राम्रो आम्दानी दिनुका साथै वातावरण संरक्षणमा समेत सहयोग पुर्याउँछ ।
नेपालका पहाडी तथा हिमाली क्षेत्र मौरी पालनका लागि उपयुक्त मानिन्छन् । यहाँ पाइने विभिन्न जडीबुटी, फूल तथा वनस्पतिका कारण मह गुणस्तरीय हुन्छ । इलाम, चितवन, कास्की, दाङ, सुर्खेत लगायत जिल्लामा व्यावसायिक रूपमा मौरी पालन गरिँदै आएको छ । त्यससँगै अन्य थुप्रै जिल्लाहरूमा समेत व्यवसायीक रूपमा मौरीपालन थालिएको छ । नेपालमा उत्पादित मह स्वदेशमा मात्र होइन विदेशमा पनि माग बढ्दै गएको छ ।
मिराकल मौरी पालन चितवन माडीका सञ्चालक दामोदर देवकोटाका अनुसार, व्यवसायीक मौरी पालनले आम्दानी राम्रो हुने बताएका छन् । विगत १२ वर्षदेखि निरन्तर रूपमा मौरी पालन गर्दै आएका उनले आफ्नो जीविकोपार्जन यही व्यवसायबाट नै चलाएको बताए । उनले अहिले “एपिस मलिफेरा” जातको ८२ घार मौरी पाल्दै आएका छन् ।
सञ्चालक देवकोटाले भने, ‘पहिले केवल खेतीपातीबाट मात्रै घर चलाउन गाह्रो थियो । अहिले मौरी पालन गरेपछि मह बेचेर अतिरिक्त आम्दानी भएको छ ।’ मौरीले बाली उत्पादन बढाउन सहयोग गरेको अनुभव उनको छ । मौरीलाई चरन गराउन एक ठाउँबाट अर्को ठाउँमा लादा मर्ने सम्भावना धेरै भएकोले समस्या हुन्छ । महको माग राम्रो छ तर चिसो मौसममा मह जम्ने हुँदा व्यवसायमा समस्या हुने उनको भनाई छ ।
सरकारले बाह्र मह आयातमा रोक लगाएर स्वदेशी महलाई प्रवर्धन गरे मौरी पालन व्यवसायमा व्यवसायीहरूको आकर्षण बढ्ने उनले आजको अर्थ सँगको कुराकानीमा भने ।
आधुनिक मौरी फर्म उत्पादन तथा बिक्री केन्द्र विदुर ५ पिपलटार नुवाकोटका सञ्चालक भिम प्रसाद अधिकारीका अनुसार, मौरीबाट मह, मैन, प्रोपोलिस लगायतका उत्पादन बजारमा पाइन्छ । मह स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, घाँटी दुखाइ कम गर्ने तथा ऊर्जा प्रदान गर्ने काम गर्छ । त्यसैले बजारमा नेपाली महको लोकप्रियता बढ्दो भएको बताएका छन् ।
सञ्चालक अधिकारीले भने, ‘विगत छ वर्षदेखि निरन्तर मौरी पालन व्यवसाय गर्दै आएको छु । महको माग धेरै छ तर व्यवसायीहरूमा मौरी पालन सम्बन्धी ज्ञान नहुनु, व्यवस्थापनमा कमजोरी हुनु र धैर्यता नहुनुले महको माग पुरा गर्न सकिएको छैन ।’ कृर्षि व्यवसायमा अन्य व्यवसाय भन्दा मौरी पालन व्यवसायमा आम्दानी राम्रो हुन्छ । उनले अहिले मकवानपुर, नुवाकोटको पिपलटार र सर्लाहीमा गरी एक सय भन्दा बढी मौरीको घारमा “एपिस सेराना” र “एपिस मलिफेरा” जातको मौरी पाल्दै आएको बताए । आफ्नै फर्ममा मौरीको घार तथा मौरी उत्पादन गरी बिक्री गदै मनग्य आम्दानी गरेको उनले आजको अर्थ सँग भने ।
सरकारले मौरी पालक किसानलाई उनीहरूको फर्ममै गएर अनुसन्धान गरी अनुदान दिनु पर्ने, उचित तालिमको व्यवस्थापन गर्नुपर्ने र विषादी न्यूनीकरण गरे मौरी पालनमा किसानहरूको आकर्षण बढ्नेमा अधिकारीले जोड दिए ।
पछिल्ला वर्षहरूमा मौरी विभिन्न समस्याबाट प्रभावित भएका छन् । अत्यधिक विषादी प्रयोग, वन विनाश, जलवायु परिवर्तन तथा रोगका कारण मौरीको संख्या घट्दै गएको छ । यदि मौरीको संरक्षण गर्न सकिएन भने कृषि उत्पादनमा नकारात्मक असर पर्न सक्छ ।
विश्व मौरी दिवसले मौरीको महत्त्व सम्झाउने अवसर प्रदान गरेको छ । नेपालमा पनि मौरी संरक्षण तथा व्यावसायिक मौरी पालनलाई प्रोत्साहन गर्न सरकारी तथा निजी क्षेत्रले विभिन्न कार्यक्रम सञ्चालन गर्ने हो भने मौरी पालनलाई थप व्यावसायिकता तर्फ उत्प्रेरित गर्न मद्दत पुग्ने छ । मौरी जोगाउनु भनेको वातावरण, कृषि र मानव जीवन जोगाउनु हो भन्ने सन्देश यस दिवसले दिएको छ ।
प्रतिक्रिया