सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर लगाउन रास्वपा सांसद तोसिमा कार्कीको माग

आइतबार, १० जेठ २०८३, १५ : ४३

काठमाडौं- तोसिमा कार्की ले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर बढाएर कम्तीमा ५० प्रतिशत पुर्‍याउनुपर्ने माग गरेकी छन् ।

सार्वजनिक स्वास्थ्य करसम्बन्धी कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद तथा स्वास्थ्य विभाग प्रमुख कार्कीले जनस्वास्थ्य सुधार र स्वास्थ्य बीमालाई दिगो बनाउन यस्तो नीति आवश्यक रहेको बताइन् ।

उनले सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्नुपर्ने सिफारिस गर्दै हालको ३ देखि ५ प्रतिशतसम्मको सामान्य कर वृद्धिले उपभोग घटाउन नसक्ने जिकिर गरिन् ।

कार्कीका अनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम, करिब ४१ प्रतिशत मात्रै कर लाग्दै आएको छ । पर्याप्त कर वृद्धिले मात्रै उपभोग घटाउने र त्यसबाट उत्पन्न रोगको भार कम गर्न सकिने उनको भनाइ छ ।

उनले सुर्तीजन्य पदार्थले क्यान्सरका साथै रक्तनलीसम्बन्धी गम्भीर रोग निम्त्याउने उल्लेख गर्दै यसले नागरिकको उत्पादकत्व घटाउनुका साथै राज्यलाई थप आर्थिक भार पर्ने बताइन् ।

सांसद कार्कीले सुर्तीजन्य पदार्थ, मदिरा तथा हानिकारक पेय पदार्थबाट उठ्ने राजस्व स्वास्थ्य बीमामा लगानी गर्नुपर्ने प्रस्ताव पनि अघि सारिन् । “यदि यस्तो राजस्व स्वास्थ्य क्षेत्रमै प्रयोग गरियो भने नागरिकले पनि सहज रूपमा स्वीकार गर्नेछन्,” उनले भनिन् ।

धुम्रपानबाट निस्कने धुवाँका कारण बालबालिका, गर्भवती महिला तथा दीर्घरोगी बढी जोखिममा पर्ने भन्दै उनले ‘प्यासिभ स्मोकिङ’ नियन्त्रणका लागि राज्यले विशेष नीति ल्याउनुपर्नेमा जोड दिइन् ।

 
आइतबार, १० जेठ २०८३, १५ : ४३

प्रतिक्रिया