न्युयोर्क- अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने संकेत देखिएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । मध्यपूर्वमा तनाव कम हुने र तेल आपूर्तिमा अवरोध घट्ने अपेक्षाले लगानीकर्ताहरूमा बिक्री दबाब बढेपछि बजारमा तीव्र गिरावट आएको हो ।
जुलाई आपूर्तिको पश्चिम टेक्सास मध्यवर्ती कच्चा तेल एक समय प्रति ब्यारेल ५.३५ अमेरिकी डलरले घटेर ९१.२५ डलरमा झरेको थियो । यो करिब ५.५३ प्रतिशतको गिरावट हो । त्यस्तै ब्रेन्ट कच्चा तेल को मूल्य पनि ५.५७ डलरले घटेर ९७.९७ अमेरिकी डलर प्रति ब्यारेलमा पुगेको छ, जुन करिब ५.३८ प्रतिशतको कमी हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको शान्ति सम्झौता धेरै हदसम्म टुंगो नजिक पुगेको तर अन्तिम सहमतिका लागि अमेरिका, इरान र मध्यपूर्वका अन्य देशबीच थप छलफल आवश्यक रहेको बताएका छन् ।
प्रस्तावित योजनामा ६० दिने युद्धविराम विस्तार, हर्मुज जलडमरूमध्य पुनः सञ्चालन, इरानलाई तेल निर्यातको अनुमति तथा आणविक कार्यक्रमबारे वार्ता समावेश रहेको जनाइएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले इरानले हर्मुज जलडमरूमध्य खोल्ने कदम अघि बढाए अमेरिका आणविक कार्यक्रमबारे गम्भीर वार्ताका लागि तयार रहेको बताएका छन् ।
यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाज हर्मुज जलडमरूमध्य पार गरेको जानकारी दिएको छ । यसले उक्त मार्ग आंशिक रूपमा सञ्चालनमा फर्किएको संकेत गरेको छ ।
ऊर्जा विश्लेषकहरूका अनुसार युद्धअघिको अवस्थामा तेल आपूर्ति तत्काल फर्कन कठिन देखिन्छ । उत्पादन संरचनामा क्षति, केही क्षेत्रमा उत्पादन अवरोध तथा ढुवानी समस्या अझै समाधान नभएकाले बजारमा आपूर्ति–माग असन्तुलन कायम रहने र तेल मूल्य लामो समय उच्च रहन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया