६ जना सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, को–को हुन् ?

मंगलबार, १२ जेठ २०८३, १२ : ५९

काठमाडौं– समयमै सम्पत्ति विवरण नबुझाउने प्रतिनिधिसभा सदस्यहरूको संख्या ६ पुगेको छ । संघीय संसद् सचिवालयले जेठ १० गतेभित्र सम्पत्ति विवरण पेश गर्न सांसदहरूलाई निर्देशन दिएको थियो । निर्धारित अवधिभित्र २५४ जना सांसदले विवरण बुझाएका छन् भने ६ जना सांसद अझै सम्पर्कमा आएका छैनन् ।

हाल सरकारमा रहेका १७ जना मन्त्रीले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्पत्ति विवरण बुझाउन सक्ने व्यवस्था रहेको छ । यद्यपि, एक जना बहालवाला मन्त्रीले संसद् सचिवालयमै विवरण बुझाएका छन् भने पदमुक्त भइसकेका अर्का एक मन्त्रीले पनि सचिवालयमा विवरण पेश गरेका छन् ।

संसद् सचिवालयका अनुसार विवरण नबुझाउनेमध्ये पाँच जना रास्वपाका सांसद रहेका छन् भने एक जना नेपाल कम्युनिस्ट पार्टीका सांसद हुन् । नेकपाका सांसद धनबहादुर बुढाले भने म्याद थपका लागि निवेदन दिएका छन् । कानुनी प्रावधानअनुसार यस्तो निवेदन दिएमा थप ३० दिनको समय उपलब्ध हुन्छ ।

तर बाँकी पाँच सांसदले न सम्पत्ति विवरण बुझाएका छन्, न त म्याद थपका लागि निवेदन नै दिएका छन् । उनीहरूमा रास्वपाका आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतो रहेका छन् ।

भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद सम्हालेको ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहित विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

यसै व्यवस्थालाई आधार मान्दै संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई जेठ १० गतेभित्र विवरण बुझाउन सूचना जारी गरेको थियो । तर समयसीमा सकिँदासम्म ६ जना सांसदले दायित्व पूरा नगरेको पाइएको हो ।

कानुनअनुसार तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाउनेलाई १० हजार रुपैयाँ जरिबाना लाग्ने व्यवस्था छ । साथै, विवरण नबुझाउने व्यक्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको आशंकामा छानबिन गर्न सक्ने प्रावधान पनि रहेको छ ।

सम्पत्ति विवरण बुझाउन ढिलाइ भएकोबारे प्रतिक्रिया दिँदै सांसद प्रमोद कुमार महतोले आकस्मिक कारणले काठमाडौं बाहिर रहनुपरेको बताए । उनले छिट्टै विवरण बुझाउने बताएका छन् ।

 
 
मंगलबार, १२ जेठ २०८३, १२ : ५९

प्रतिक्रिया