काठमाडौं– सरकारले नेपाल बीमा प्राधिकरण को अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारबाट आवेदन मागेको हो ।
सूचनाअनुसार अध्यक्ष पदका लागि आवेदन दिने व्यक्ति उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ भने ‘बीमा ऐन, २०७९’ बमोजिम अयोग्य घोषित नभएको हुनुपर्नेछ । साथै अर्थ मन्त्रालयअन्तर्गत सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ अनुसार उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
आवेदकले बीमा, मौद्रिक, बैंकिङ, वाणिज्य, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव आवश्यक पर्ने सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसूर तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा सजाय पाएका व्यक्ति अयोग्य हुनेछन् । कालोसूचीमा परेका व्यक्तिले फुकुवा भएको तीन वर्ष पूरा गरेको हुनुपर्ने, विदेशी मुलुकको स्थायी आवासीय अनुमति नलिएको, सार्वजनिक निकायसँग ठेक्का सम्झौतामा संलग्न नरहेको तथा मानसिक सन्तुलन ठीक भएको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ ।
इच्छुक तथा योग्य उम्मेदवारले आगामी जेठ १९ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाअन्तर्गत रहेको समिति सचिवालयमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया