जेनजी आन्दोलनमा रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

बुधबार, १३ जेठ २०८३, १७ : २०

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टी का १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

बुधबार आयोगले सार्वजनिक गरेको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, तोषिमा कार्की, राजिव खत्री, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ, शिव यादव र अमित खनाल को नाम उल्लेख गरिएको छ ।

आयोगले प्रतिवेदनको १० नम्बर बुँदामा ती सांसदहरूको भूमिका देखिएको उल्लेख गर्दै प्रदर्शनअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपछि दिएका अभिव्यक्ति, सामाजिक सञ्जालमा व्यक्त धारणा, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको विवरणका आधारमा अनुसन्धान आवश्यक देखिएको जनाएको छ ।

प्रतिवेदनमा ती व्यक्तिहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित वा उत्तेजित भएको हो–होइन, सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगेको हो–होइन तथा कुनै प्रकारको दुरुत्साहन भएको हो–होइन भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ ।

आयोगले अनुसन्धान प्रक्रिया स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्दै अघि बढाउन र दोषी देखिए कानुनी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

 
बुधबार, १३ जेठ २०८३, १७ : २०

प्रतिक्रिया