बीमा शुल्क संकलन १ खर्ब ६० अर्ब नाघ्यो, जीवन बीमामा मात्रै १ खर्ब २७ अर्ब

विहीबार, १४ जेठ २०८३, १६ : १४

काठमाडौं- चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जीवन बीमा शुल्कमार्फत १ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ संकलन भएको छ। आर्थिक सर्वेक्षणअनुसार निर्जीवन बीमाबाट ३२ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको छ।

कुल बीमा शुल्क गत वर्षको तुलनामा १६.१ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब २२ करोड रुपैयाँ पुगेको छ। सक्रिय बीमालेखमध्ये जीवन बीमातर्फ १ करोड ६२ लाखभन्दा बढी र निर्जीवन बीमातर्फ २१ लाख ६८ हजारभन्दा बढी बीमालेख कायम रहेका छन्।

चालु आवको फागुनसम्म जीवन बीमातर्फ १ लाख २५ हजारभन्दा बढी दाबीअन्तर्गत २६ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गरिएको छ भने निर्जीवन बीमातर्फ १७ अर्ब ३१ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ।

बीमा क्षेत्रमा जीवन तथा लघु जीवन बीमातर्फ १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। साथै करिब ४ लाख १२ हजार अभिकर्ता अप्रत्यक्ष रूपमा संलग्न रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

यस्तै, कर्मचारी सञ्चय कोष को सम्पत्ति तथा दायित्व ६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने नागरिक लगानी कोष को सम्पत्ति ३ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।

 
विहीबार, १४ जेठ २०८३, १६ : १४

प्रतिक्रिया