काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ले गणतन्त्र दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न सम्पूर्ण राजनीतिक शक्ति र नागरिक एकजुट हुनुपर्ने बताएका छन्।
बिहीबार जारी शुभकामना सन्देशमा उनले नेपाली जनताले लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको उल्लेख गरेका छन्। गणतन्त्र कुनै व्यक्ति वा दलको नभई सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको उनको भनाइ छ।
सन्देशमा संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सच्याउँदै राज्य सञ्चालनमा समावेशी, समानुपातिक र लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
प्रचण्डले सामाजिक न्यायसहितको समृद्ध समाजवादी नेपाल निर्माणलाई साझा राष्ट्रिय संकल्पका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, परिवर्तनका उपलब्धिलाई कमजोर पार्ने प्रयासप्रति सचेत रहन पनि सबैलाई आग्रह गरेका छन्।
उनले राष्ट्रिय सरोकारका विषयमा संवाद, सहकार्य र एकताको संस्कृति आवश्यक रहेको उल्लेख गर्दै गणतन्त्रको रक्षा पहिलो जिम्मेवारी भएको बताएका छन्।
प्रतिक्रिया