काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताएका छन् ।
चितवनस्थित प्रिफ्याव प्यानल नेपाल प्रालिको अनुगमन तथा निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री बानियाँले उद्योग तथा व्यवसाय प्रवद्र्धनलाई प्राथमिकतामा राखेर बजेट ल्याइने जानकारी दिए । उनले व्यवसायीलाई प्रोत्साहन गर्ने नीति अन्तर्गत उद्योगमैत्री कार्यक्रमहरू समावेश गरिने बताए ।
मुख्यमन्त्री बानियाँका अनुसार वातावरण तथा पर्यापर्यटनसँग सम्बन्धित २५ करोड रुपैयाँभन्दा कम लगानीका उद्योगहरूलाई बैंकिङ ब्याजमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ । यस्ता उद्योगहरूलाई सहुलियतपूर्ण कर्जाको पहुँचमा पुर्याउने नीति प्रदेश सरकारले अघि बढाएको उनले बताए ।
उनले ऊर्जा क्षेत्रको व्यवस्थापन गर्दै ऊर्जालाई उत्पादनसँग जोड्ने योजनामा प्रदेश सरकार रहेको उल्लेख गरे । उद्योग निरीक्षणका क्रममा उद्योगीहरूलाई राज्यको सहयोग आवश्यक रहेको भन्दै सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर औद्योगिक विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच, नेपाली निर्माण क्षेत्रमा आधुनिक, दिगो तथा वातावरणमैत्री प्रविधि भित्र्याउने उद्देश्यसहित स्थापित Prefab Panel Nepal Pvt.Ltd. ले अत्याधुनिक “स्मार्ट प्यानल” सहित विभिन्न निर्माण सामग्री नेपाली बजारमा सफलतापूर्वक विस्तार गरेको जनाएको छ ।
_ECJ5AucSgV.jpg)
सन् २०२४ मा स्थापना भएको कम्पनीको अधिकृत पूँजी १० करोड रुपैयाँ रहेको छ । कम्पनीका अध्यक्ष नारायण रेग्मीका अनुसार छोटो समयमै कम्पनीले आधुनिक निर्माण प्रविधिलाई देशव्यापी रूपमा विस्तार गर्दै नेपाली निर्माण क्षेत्रमा उल्लेखनीय उपस्थिति स्थापित गर्न सफल भएको छ ।
कम्पनीले उत्पादन गरिरहेको EPS Cement/Calcium Based Smart Panel निर्माण कार्यलाई छिटो, सुरक्षित तथा लागत प्रभावकारी बनाउने उद्देश्यले विकास गरिएको हो । ताप तथा ध्वनि नियन्त्रणमा प्रभावकारी मानिने यी प्यानलहरू घर, कार्यालय, उद्योग तथा अन्य संरचनाका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।
स्मार्ट प्यानलसँगै कम्पनीले EPS Based Lightweight Blocks तथा EPS Based Net Panel समेत बजारमा ल्याएको जनाएको छ । यी सामग्रीहरूले आधुनिक निर्माण प्रणालीलाई अझ प्रभावकारी, हलुका, दिगो तथा वातावरणमैत्री बनाउने विश्वास कम्पनीको छ ।
कम्पनीका अनुसार हालसम्म नेपालका ५० भन्दा बढी जिल्लामा उत्पादनहरूको बिक्री तथा वितरण भइसकेको छ । देशव्यापी डिलर तथा वितरण सञ्जाल विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको कम्पनीले जनाएको छ ।
अनुभवी उद्योगी नारायण रेग्मी, निर्माण व्यवस्थापन विज्ञ बिमलराज गोसाई तथा उद्यमी मोतिना चन्दको नेतृत्वमा सञ्चालित कम्पनीले आगामी दिनमा कुल लगानी ५० करोड रुपैयाँसम्म विस्तार गर्ने लक्ष्य लिएको छ । उत्पादन क्षमता वृद्धि, आधुनिक प्रविधिको विस्तार, वितरण प्रणाली सुदृढीकरण तथा निकट भविष्यमा आईपीओ जारी गर्ने योजना समेत कम्पनीले सार्वजनिक गरेको छ ।
कम्पनीले गुणस्तरीय तथा आधुनिक निर्माण सामग्रीमार्फत राष्ट्रिय विकास र औद्योगिक आत्मनिर्भरतामा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया