काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। उनी भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा त्यसतर्फ गएको पार्टीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले प्रतिक्रिया लिन खोजे पनि लामिछानेले भारतबाट फर्किएपछि मात्र कुरा गर्ने भन्दै तत्काल कुनै प्रतिक्रिया नदिएको जनाइएको छ।
उनसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमण टोलीमा रहेका छन्।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछाने जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारतमा रहनेछन्। भ्रमणका क्रममा उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
उनले भारतीय जनता पार्टी (भाजपा) नेतृत्व, भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ। त्यसपछि अयोध्याको पनि भ्रमण गर्ने योजना रहेको पार्टीले जनाएको छ।
भेटघाट तथा भ्रमणका सम्पूर्ण कार्यक्रमका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जानकारी दिएको छ।
प्रतिक्रिया