सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

सोमबार, १८ जेठ २०८३, १४ : २८

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वाला द्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइ गैरजिम्मेवारपूर्ण रहेको, साथै नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताविपरीत भएको आरोप लगाइएको छ। नेकपाले उक्त अभिव्यक्ति तत्काल सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरेको छ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय सीमा अतिक्रमण र सीमावर्ती क्षेत्रमा हुने जग्गाको भोगचलन (क्रस–होल्डिङ) फरक विषय भएको स्पष्ट पारिएको छ। कुनै देशले अर्को देशको भूभाग कब्जा गर्ने, संरचना बनाउने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण मानिने उल्लेख गर्दै सीमावर्ती नागरिकको जग्गा दुवैतर्फ पर्नुलाई कब्जा भन्न नमिल्ने तर्क गरिएको छ।

पार्टीले भारतले लामो समयदेखि कालापानी क्षेत्र, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा अतिक्रमण गर्दै आएको दाबी पनि दोहोर्याएको छ। यस्तो अवस्थामा नेपालले भारतको भूमि कब्जा गरेको जस्तो आशय व्यक्त गर्नु गम्भीर भएको नेकपाको भनाइ छ।

विज्ञप्तिमा सुगौली सन्धि र ऐतिहासिक सीमा स्तम्भका आधारमा सीमारेखा निर्धारण भएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा देखिने भोगचलनलाई अतिक्रमणका रूपमा व्याख्या गर्न नहुने स्पष्ट पारिएको छ।

नेकपाले नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ। साथै, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन हालसम्म सार्वजनिक नभएको विषय पनि उठाइएको छ।

पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितविपरीत भएको दाबी गर्दै तत्काल सच्याउन, संसद्को अभिलेखबाट हटाउन र सीमा सम्बन्धी विषयमा राष्ट्रिय सहमति कायम गरी कूटनीतिक पहल अघि बढाउन सरकारसँग माग गरेको छ।

 
सोमबार, १८ जेठ २०८३, १४ : २८

प्रतिक्रिया