काठमाडौं- सरकारले विदेशबाट स्वदेश फर्किने नेपालीहरूले साथमा ल्याउन पाउने सामान तथा त्यसमा लागू हुने भन्सार छुटसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार विभिन्न वस्तुमा भन्सार छुटको सीमा तोकिएको हो।
नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगारीबाट फर्किने नेपालीहरूले व्यक्तिगत प्रयोगका लागि एक–एक थान ट्याब्लेट, ल्यापटप, डेस्कटप कम्प्युटर, घडी तथा क्यामेरा भन्सार छुटमा ल्याउन सक्नेछन्।
त्यस्तै, कम्तीमा ६ महिना विदेशमा काम गरी स्वदेश फर्किएका नेपाली नागरिकले थप एक थान नयाँ मोबाइल फोन पनि भन्सार नतिरी ल्याउन पाउने व्यवस्था गरिएको छ।
सरकारले कम्तीमा १२ महिना विदेश बसेर फर्किने नेपालीहरूलाई एकपटकका लागि ६५ इन्चसम्मको टेलिभिजनमा समेत भन्सार छुट दिने व्यवस्था गरेको छ।
यसका साथै उपचारका लागि ल्याइएका औषधि, अशक्त व्यक्तिले प्रयोग गर्ने सहायक सामग्री तथा ७ किलोसम्मका खाद्य सामग्री पनि भन्सारमुक्त रूपमा ल्याउन सकिनेछ।
सूचनाअनुसार तोकिएको सीमा भन्दा बढी सामान ल्याइएमा यात्रुको पारिवारिक अवस्था, परिवारको संख्या, बसेको देश तथा विदेश बसाइको अवधिलाई आधार मानेर सम्बन्धित भन्सार कार्यालय प्रमुखले आवश्यक निर्णय गर्न सक्नेछन्।
स्थलमार्गबाट नेपाल आवतजावत गर्ने व्यक्तिका लागि पनि छुटको सीमा बढाइएको छ। अब ५०० रुपैयाँसम्मका व्यक्तिगत प्रयोगका सामान ल्याउँदा वा लैजाँदा भन्सार लाग्ने छैन। यसअघि यस्तो छुटको सीमा १०० रुपैयाँ मात्र थियो।
यद्यपि, कुनै सामानलाई भन्सार छुट दिने वा नदिने अन्तिम अधिकार भने सम्बन्धित भन्सार कार्यालय प्रमुखमा रहने व्यवस्था गरिएको छ।
प्रतिक्रिया