गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने सरकारी गाडी चोरी

विहीबार, २१ जेठ २०८३, १६ : ०५

काठमाडौं- ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्ने सरकारी गाडी (स्कर्पियो) चोरी भएको छ। मध्यराति ललितपुरको ठेचोबाट उक्त गाडी चोरी भएको हो।

प्रमुख प्रशासकीय अधिकृतले चढ्ने स्कर्पियो गाडी नै गायब भएपछि नगरपालिका र स्थानीय प्रशासनमा खैलाबैला मच्चिएको छ। गाडी हराएलगत्तै नगरपालिकाका तर्फबाट प्रहरीमा लिखित उजुरी दिइएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्रले चोरी भएको गाडीको खोजी कार्य तीव्र पारिएको जानकारी दिए। ‘हामीले विभिन्न प्राविधिक पक्ष र उपलब्ध प्रमाणहरूको सुक्ष्म विश्लेषण गरेर खोजी गरिरहेका छौँ। यद्यपि, अहिलेसम्म गाडी फेला परिसकेको छैन,’ एसपी मिश्रले भने।

प्रहरीका अनुसार घटनास्थल आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज संकलन गरी अध्ययन गर्दा एक अज्ञात व्यक्तिले स्कर्पियो लिएर गइरहेको देखिएको छ। ती व्यक्तिको पहिचान खुल्न सकेको छैन।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले उक्त गाडीका चालकसँग समेत सोधपुछ गरेको छ। सोधपुछका क्रममा चालकले आफू राति सुतेको अवस्थामा गाडी चोरी भएकाले घटनाबारे कुनै जानकारी नभएको बयान दिएका छन्।

प्रहरीले चालकको बयान र सीसीटीभी फुटेजलाई आधार मानेर चोरीमा संलग्न गिरोहको खोजीका लागि उपत्यकाका विभिन्न नाका तथा सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरेको छ।

 
विहीबार, २१ जेठ २०८३, १६ : ०५

प्रतिक्रिया