रसुवामा १९ लाख ५२ हजार रुपैयाँसहित एक जना पक्राउ, हुण्डी कारोबारको आशंका

आइतबार, २४ जेठ २०८३, १४ : ४७

रसुवा- रसुवा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ। उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाअन्तर्गत अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले पासाङ ल्हामु राजमार्गमा सवारी जाँचका क्रममा स्याफ्रुवेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८०७ नम्बरको सुमो गाडी रोकेको थियो।

जाँचका क्रममा गाडीमा सवार गोसाईकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङको झोलाबाट १९ लाख ५२ हजार १०० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

बरामद रकमको स्रोत खुलाउन नसकेपछि गुरुङलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धानका लागि रसुवा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 
आइतबार, २४ जेठ २०८३, १४ : ४७

प्रतिक्रिया