इप्पानको २४औँ साधारणसभा जेठ २९ मा, विधान संशोधन प्रस्ताव अघि सारिने

सोमबार, २५ जेठ २०८३, १४ : २१

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आफ्नो २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन २०८३ जेठ २९ गते आयोजना गर्ने भएको छ। कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा अधिवेशनको सूचना जेठ ९ र १० गते नै सार्वजनिक गरिसकिएको संस्थाले जनाएको छ।

इप्पानले अधिवेशनको तयारी भइरहेको अवस्थामा संस्थासम्बन्धी विभिन्न भ्रमपूर्ण र कपोलकल्पित प्रचार भइरहेको भन्दै त्यसप्रति सदस्य तथा ऊर्जा व्यवसायीहरूलाई सचेत रहन आग्रह गरेको छ। साथै साधारणसभा तथा अधिवेशनलाई भव्य रूपमा सफल बनाउन सक्रिय सहभागिताको अपिल गरेको छ।

संस्थाका अनुसार २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेल को संयोजकत्वमा गठन गरेको विधान संशोधन तथा पुनर्लेखन समितिले इप्पानलाई महासंघका रूपमा रूपान्तरण गर्ने प्रस्तावसहित प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमाथि २३औँ साधारणसभामा छलफल गरी कार्यान्वयनका लागि नेतृत्वलाई अख्तियारी प्रदान गरिएको थियो।

यद्यपि २००औँ कार्यसमिति बैठकले हाल कायम रहेको इप्पान विधान २०७८ अनुसार नै आगामी साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको जनाएको छ। हालै सम्पन्न २०३औँ बैठकले विधान संशोधन प्रस्तावसमेत साधारणसभामा लैजाने निर्णय गरेको छ। प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाइने तथा अध्यक्षसहित अन्य पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवारी दिन सकिने व्यवस्था गरिनेछ।

इप्पानका अध्यक्ष गणेश कार्की ले जारी गरेको विज्ञप्तिमा संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलाल ले विधान गायब भएको तथा विधानविपरीत अधिवेशन गर्न लागिएको भन्ने आरोप लगाएको उल्लेख गर्दै ती दाबी निराधार र भ्रामक भएको बताएका छन्। संस्थाले विधान संशोधनसम्बन्धी सम्पूर्ण कागजात सचिवालयमा सुरक्षित रहेको स्पष्ट पारेको छ।

इप्पानले आफू विधानको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको जनाउँदै संस्थामाथि नकारात्मक प्रभाव पार्ने गतिविधिको विरोध गरेको छ। हाल इप्पानमा ७०० भन्दा बढी कम्पनी सदस्य आबद्ध रहेका छन्।

 
सोमबार, २५ जेठ २०८३, १४ : २१

प्रतिक्रिया