कर सूचना चुहावट प्रकरणमा अर्थमन्त्रीमाथि छानबिन गर्न राप्रपाको माग

सोमबार, २५ जेठ २०८३, १५ : ०७

काठमाडौं- राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बजेट सार्वजनिक हुनुअघि करका दर हेरफेरसम्बन्धी सूचना चुहिएको विषयमा स्वर्णिम वाग्ले माथि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

प्रतिनिधिसभामा बोल्दै राप्रपा संसदीय दलका नेता शाहीले करका दर परिवर्तनसम्बन्धी सूचना अर्थमन्त्रीबाहेक सीमित व्यक्तिलाई मात्र जानकारी हुने दाबी गर्दै त्यस्तो संवेदनशील सूचना बाहिरिनु गम्भीर विषय भएको बताए। उनले यस घटनालाई ‘राजद्रोहसरहको अपराध’ भन्दै सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरे।

शाहीले करसम्बन्धी सूचना चुहिएपछि ७ सय ५३ वटा बीवाइडी गाडी केरुङ नाकामार्फत भित्रिएको विषयमा सरकारले गठन गरेको छानबिन समितिमाथि पनि प्रश्न उठाए। सरकारले आफैं समिति बनाएर कर्मचारीलाई मात्र दोषी देखाउने प्रयास गरेको आरोप लगाउँदै निष्पक्ष संसदीय छानबिन आवश्यक रहेको उनको भनाइ थियो।

उनले बजेट निर्माण प्रक्रियामा गोप्य रहने करका दरसम्बन्धी सूचना कसरी बाहिरियो भन्नेबारे अर्थमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग गरे। यदि अर्थमन्त्रीको संलग्नता पुष्टि भए प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने उनको धारणा थियो।

 
सोमबार, २५ जेठ २०८३, १५ : ०७

प्रतिक्रिया