काठमाडौं- सुनचाँदी व्यवसायमा हाल लागू गरिएको सीप प्रवर्धन शुल्क खारेज गर्न तथा सुनचाँदीमा लगाइएको भन्सार दर घटाउन माग गर्दै मधेश प्रदेशका सुनचाँदी व्यवसायीहरू काठमाडौं आएका छन् ।
व्यवसायीहरूले नक्सालस्थित होटल प्लाजामा आयोजित भेलाअघि आन्दोलनको रणनीति तय गर्न छलफल तीव्र पारेका छन् । मधेश प्रदेश सभापति रामजी साह, शिवकुमार सराफ लगायतको टोलीले विभिन्न जिल्लाका व्यवसायीहरूसँग समन्वय गर्दै आन्दोलनलाई प्रभावकारी बनाउने तयारी गरिरहेका छन् ।
व्यवसायीहरूका अनुसार, सरकारले लागू गरेको ०.५ प्रतिशत सीप प्रवर्धन शुल्क तथा सुनचाँदीमा कायम गरिएको २० प्रतिशत भन्सार दरले व्यवसाय सञ्चालनमा थप चुनौती सिर्जना गरेको छ । उक्त व्यवस्था पुनर्विचार गरी शुल्क खारेज र भन्सार दर घटाउन सरकारसमक्ष उनीहरूको माग छ ।
मधेश प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौं आएका व्यवसायीहरूले वृहत् भेला आयोजना गर्ने तयारी गर्दै आन्दोलनका आगामी कार्यक्रम र दबाबमूलक गतिविधि तथा सरकारसँगको वार्ताका विषयमा ठोस निर्णय गर्ने जनाएका छन् ।
सुनचाँदी क्षेत्रको संरक्षण, व्यवसायीहरूको हकहित र बजारको स्थायित्वका लागि एकताबद्ध आन्दोलन आवश्यक भएकाले देशभरका व्यवसायीलाई सहभागी गराउने योजना बनाइएको मधेश प्रदेश सभापति रामजी साहले बताए । आगामी दिनमा सरकारबाट सकारात्मक सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने उनले चेतावनी दिएका छन् ।
प्रतिक्रिया