अर्थतन्त्र

मुलुकको अर्थतन्त्र : बाह्य सूचक बलियो, निजी क्षेत्रको गतिविधि भने सुस्त

विहीबार, २८ जेठ २०८३, १० : २७

काठमाडौं- नेपालको बाह्य अर्थतन्त्रका प्रमुख सूचकहरू यतिबेला सुदृढ देखिएका छन्। रेमिट्यान्स आप्रवाह, विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति र चालु खातामा उल्लेखनीय सुधार देखिएसँगै बाह्य क्षेत्र थप मजबुत बनेको हो। तर, यसको सकारात्मक प्रभाव आन्तरिक अर्थतन्त्रमा अपेक्षित रूपमा देखिन सकेको छैन।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर १३.३ प्रतिशत मात्र थियो। अमेरिकी डलरमा रेमिट्यान्स ३३ प्रतिशतले बढेर २४ अर्ब १९ करोड डलर पुगेको छ।

वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यही कारण विदेशी विनिमय सञ्चिति पनि इतिहासकै उच्च स्तरमा पुगेको छ। वैशाख मसान्तसम्म कुल विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ अर्थात् २४ अर्ब १९ करोड अमेरिकी डलर बराबर पुगेको राष्ट्र बैंकले जनाएको छ। हालको सञ्चितिले १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको छ, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै माथि हो।

बाह्य क्षेत्रको अर्को महत्वपूर्ण सूचक शोधनान्तर स्थिति पनि बलियो देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर बचत ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ बचतमा रहेको छ। यी तथ्यांकले नेपालको बाह्य क्षेत्र तत्काल कुनै दबाबमा नरहेको संकेत गर्छन्।

तर, बाह्य क्षेत्रको यो मजबुती आन्तरिक आर्थिक गतिविधिमा भने प्रतिबिम्बित हुन सकेको छैन। बैंक तथा वित्तीय संस्थामा निक्षेप तीव्र रूपमा बढे पनि कर्जा विस्तार सुस्त रहेको देखिएको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९.४ प्रतिशतले बढेर ७९ खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। वार्षिक आधारमा निक्षेप वृद्धि १६ प्रतिशत रहेको छ। तर, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा भने ५.७ प्रतिशतले मात्रै बढेर ५८ खर्ब ९ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। वार्षिक आधारमा कर्जा विस्तार ६.७ प्रतिशतमा सीमित छ।

निक्षेपको तुलनामा कर्जाको वृद्धि निकै कम रहनुले बैंकिङ प्रणालीमा तरलता पर्याप्त भए पनि उद्योग–व्यवसायमा लगानीको उत्साह कमजोर रहेको देखाएको छ। बैंकहरूमा लगानीयोग्य रकम थुप्रिए पनि व्यवसायी र उपभोक्ताबाट कर्जाको माग उल्लेख्य रूपमा बढ्न नसकेको अवस्था छ।

यसैबीच, ब्याजदर निरन्तर घटिरहेको छ। वाणिज्य बैंकहरूको औसत आधारदर ४.९७ प्रतिशतमा झरेको छ भने औसत कर्जादर ६.७३ प्रतिशत कायम भएको छ। निक्षेपको औसत ब्याजदर ३.३५ प्रतिशतमा सीमित छ। सस्तो ब्याजदरका बाबजुद कर्जा माग नबढ्नु आन्तरिक आर्थिक गतिविधि अझै सुस्त रहेको संकेत मानिएको छ।

मूल्यवृद्धिमा भने केही दबाब देखिएको छ। वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा २.७७ प्रतिशत थियो। फलफूल, घिउ–तेल र तरकारीको मूल्य वृद्धिले खाद्य मुद्रास्फीतिमा योगदान गरेको छ।

वैदेशिक व्यापारतर्फ आयात र निर्यात दुवैमा सुधार देखिएको छ। समीक्षा अवधिमा आयात १४.८ प्रतिशतले बढेर १४ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ भने निर्यात १४.२ प्रतिशतले वृद्धि भई २ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। तथापि, आयातको आकार निर्यातभन्दा निकै ठूलो रहेकाले व्यापार घाटा अझै उच्च रहेको छ।

समग्रमा हेर्दा नेपालको बाह्य क्षेत्र बलियो अवस्थामा पुगे पनि निजी क्षेत्रको लगानी, उत्पादन, रोजगारी र उपभोगमा अपेक्षित सुधार नआउँदा आन्तरिक अर्थतन्त्र अझै सुस्त देखिएको छ। अब आगामी मौद्रिक नीतिको मुख्य चुनौती सस्तो ब्याजदर र प्रशस्त तरलतालाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्दै वास्तविक आर्थिक गतिविधि चलायमान बनाउनु हुने देखिन्छ।

विहीबार, २८ जेठ २०८३, १० : २७

प्रतिक्रिया