काठमाडौं– पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिनुमा अन्तर्राष्ट्रिय बजारका विभिन्न आर्थिक तथा राजनीतिक कारणहरू मुख्य जिम्मेवार रहेको नेपाल सुनचाँदी रत्न आभुषण व्यवसायी महासंघका कोषाध्यक्ष गणेश लोकान्द्रीले बताएका छन् ।
कोषाध्यक्ष लोकान्द्रीका अनुसार विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, अमेरिकी डलरको विनिमय दर, ब्याजदरमा हुने परिवर्तन तथा अन्तर्राष्ट्रिय लगानीकर्ताको मनोविज्ञानले सुनको मूल्यलाई प्रत्यक्ष रूपमा प्रभावित गरिरहेको छ । ‘सुनलाई सुरक्षित लगानीको माध्यमका रूपमा लिइने भएकाले विश्व बजारमा कुनै पनि आर्थिक वा राजनीतिक अस्थिरता देखिँदा लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुन्छन्, जसका कारण मूल्यमा उतारचढाव आउने गर्छ,’ कोषाध्यक्ष लोकान्द्रीले आजको अर्थसंगको कुराकानीमा भने ।
उनले नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारलाई आधार मानिने भएकाले विश्व बजारमा हुने परिवर्तनको प्रभाव नेपाली बजारमा पनि तत्काल देखिने बताए । साथै चाडपर्व, विवाहको मौसम तथा उपभोक्ताको मागमा आउने परिवर्तनले समेत बजारमा केही प्रभाव पार्ने कोषाध्यक्ष लोकान्द्रीको भनाइ छ ।
उनले सुनचाँदीको मूल्यमा देखिने दैनिक उतारचढावलाई स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै व्यवसायी तथा उपभोक्ताले बजारको अवस्थाबारे पर्याप्त जानकारी राखेर कारोबार गर्नुपर्ने सुझाव दिएका छन् ।
कोषाध्यक्ष लोकान्द्रीले भने, ‘सुनचाँदी दीर्घकालीन रूपमा सुरक्षित लगानीको माध्यमका रूपमा स्थापित रहेको उल्लेख गर्दै बजारमा फैलिने हल्ला वा भ्रमका आधारमा निर्णय नगर्न आग्रह समेत गरेका छन् ।’ विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार आगामी दिनमा पनि सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव कायम रहन सक्ने उनले बताए ।
प्रतिक्रिया