अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न वर्षमान पुनको माग

शुक्रबार, २९ जेठ २०८३, ११ : ५७

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग गरेको छ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले संसदको गरिमा र अधिकारमाथि प्रश्न उठाएको भन्दै निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

पुनका अनुसार अर्थमन्त्री वाग्लेले ‘अघिल्ला सरकारले ६७ वटा करका दर हेरफेर गरेका थिए, मैले केवल सात वटामा परिवर्तन गरेको हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए, जसले संसदलाई हल्का रूपमा लिएको सन्देश दिएको छ।

उनले करका दर परिवर्तनसम्बन्धी विषय उठाउने सांसदहरूलाई पुराना काण्डका फाइल खोल्ने चेतावनी दिइएको दाबी गर्दै यस्तो व्यवहार संसदीय मर्यादाविपरीत भएको बताए। यही विषय आफूले शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा समेत उठाएको उनले जानकारी दिए।

सांसद पुनले सुरुमा अर्थमन्त्रीलाई ‘शंकाको लाभ’ दिइएको भए पनि पछिल्ला घटनाक्रमले उनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको उल्लेख गरे। संसदलाई दबाब दिने वा धम्क्याउने कुनै पनि प्रयास स्वीकार्य नहुने भन्दै उनले यसप्रति गम्भीर ध्यानाकर्षण गराए।

अर्थमन्त्री स्वयंले सात वटा करका दर परिवर्तन गरिएको स्वीकार गरिसकेको अवस्थामा त्यसबारे निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने उनको माग छ।

शुक्रबार, २९ जेठ २०८३, ११ : ५७

प्रतिक्रिया