ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने सरकारी पहल स्वागतयोग्य : चेम्बर अध्यक्ष अग्रवाल

शुक्रबार, २९ जेठ २०८३, १३ : ३९

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी)का अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम तथा बजेटलाई सकारात्मक र स्वागतयोग्य भएको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २६औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले ऊर्जा क्षेत्रको विकास र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने उद्देश्यसहित ल्याइएका व्यवस्थाले लगानीकर्तामा उत्साह थपेको बताए।

उनले विद्युत् व्यापार तथा प्रसारण लाइन विकासमा निजी क्षेत्रलाई सहभागी गराउने सरकारी योजनालाई महत्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै ऊर्जा क्षेत्रका विभिन्न समस्याको समाधानतर्फ बजेट केन्द्रित देखिएको बताए।

अग्रवालले नेपालमा विगत लामो समयदेखि नीति र कार्यान्वयनबीचको अन्तरले अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरे। ‘हामी नीति र नियतीको दलदलमा अल्झियौँ। नीति सधैं राम्रो बन्यो, तर कार्यान्वयनको इच्छाशक्ति कमजोर हुँदा अपेक्षाअनुसार परिणाम आउन सकेन,’ उनले भने।

उनले अब राम्रो नीति मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। साथै, नेपालको जलस्रोतलाई देशको समृद्धिको आधारका रूपमा उल्लेख गर्दै ‘नेपालको पानी नै सुनको खानी’ भएको धारणा व्यक्त गरे।

उनका अनुसार जलस्रोतको उचित उपयोग गर्न सके ऊर्जा उत्पादन, निर्यात र आर्थिक समृद्धिमा नेपालले ठूलो फड्को मार्न सक्ने सम्भावना छ।

शुक्रबार, २९ जेठ २०८३, १३ : ३९

प्रतिक्रिया