काठमाडौं- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा भारतीय सुरक्षाकर्मी नेपाली भूमितर्फ प्रवेश गरेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्।
स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी)का करिब आधा दर्जन सुरक्षाकर्मी हतियारसहित नेपाली क्षेत्रतर्फ आएका थिए। उनीहरू उखु खेती गरिएको क्षेत्रसम्म पुगेपछि स्थानीय किसान तथा बासिन्दाले कारणबारे प्रश्न उठाउँदै विरोध गरेका थिए। सो क्रममा केहीबेर भनाभन तथा विवादसमेत भएको बताइएको छ।
स्थानीयको विरोधपछि भारतीय सुरक्षाकर्मी फर्किएका थिए। घटनाका कारण सीमावर्ती क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार भारतीयतर्फ रहेको एउटा कल्भर्ट क्षतिग्रस्त भएपछि नियमित गस्तीमा रहेका भारतीय सुरक्षाकर्मीले वैकल्पिक रूपमा नेपाली किसानको उखुबारीको आलि प्रयोग गर्न खोजेका थिए। यही विषयलाई लिएर स्थानीयसँग विवाद भएको उनले बताए।
भण्डारीले भारतीय सुरक्षाकर्मीले बाटो बिग्रिएकाले अस्थायी रूपमा उक्त क्षेत्र प्रयोग गर्न खोजेको जानकारी स्थानीयलाई दिएको बताए। साथै, उनीहरूलाई आफ्नै क्षेत्रभित्रको बाटो मर्मत गरी प्रयोग गर्न सुझाव तथा निर्देशन दिइएको जानकारी पनि उनले दिए।
यसअघि पनि सुस्तामै भारतीय सुरक्षाकर्मीले तटबन्ध निर्माणमा अवरोध गरेको विषय सार्वजनिक भएको थियो। तर, प्रशासनले आजको घटना र अघिल्लो विवाद एउटै वडाभित्र परे पनि फरक–फरक स्थानका भएकाले दुई घटनाबीच प्रत्यक्ष सम्बन्ध नरहेको जनाएको छ।
घटनाबारे थप विवरण संकलन तथा आवश्यक समन्वय भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
प्रतिक्रिया