काठमाडौं - असार महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । यसको कारण बैंकहरुमा लगानीयोग्य रकम थुप्रिनु र कर्जाको माग नहुनु रहेको छ । सरकारले उपयुक्त लगानीमैत्री नीति नबनाएको कारण लगानी गर्न चाहने व्यक्तिहरुको हातमा पैंसा जान सकेको छैन । जसको कारण बजारमा मन्दी छाएको छ । यसैको परिणामस्वरुप बैंकहरुले व्याजदर घटाएका छन् । अहिले २० मध्ये १७ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार जेठको तुलनामा असारमा निक्षेपको ब्याजदर घटेको हो ।
असारमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ४.७५ प्रतिशत ब्याज पाइने भएको छ । एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन्। जेठमा औसत ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा यस्तो औसत ब्याजदर ४.२७ प्रतिशत छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ३.९५ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो । बैंकहरूले रेमिट्यान्स खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन् ।
लामो समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैङ्कहरूको ब्याजदर घटिरहेको छ । हाल बैंक हरूसँग करिब १३ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ । कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले तीन प्रतिशत र २.५० प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन् ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ८० खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५९ खर्ब १५ अर्ब कर्जा लगानी गरेका छन् । मासिक रूपमा दुई खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेकोले पनि बैंकहरूमा निक्षेप बढेको हो ।
प्रतिक्रिया