निहित स्वार्थ समूहको प्रभाव तोड्दैछौँ : अर्थमन्त्री वाग्ले

आइतबार, ३१ जेठ २०८३, १६ : १३

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत एक दशकभन्दा बढी समयदेखि देश निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकारले त्यसको अन्त्य गर्न सुधार अभियान अघि बढाएको बताएका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न निकायसम्म स्वार्थ समूहहरूको प्रभाव रहेको विषय क्रमशः उजागर हुँदै गएको उल्लेख गरे।

उनले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालासम्बन्धी मुद्दा हाल न्यायिक प्रक्रियामा रहेको जानकारी दिँदै उक्त प्रकरणमा एक खर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको बताए।

‘विगत १०–१५ वर्ष देश निहित स्वार्थ समूहहरूको प्रभावमा थियो। राजनीतिक नेतृत्व र राज्यका विभिन्न संयन्त्रहरू समेत उनीहरूको प्रभावबाट मुक्त थिएनन्,’ मन्त्री वाग्लेले भने, ‘अहिले हामी त्यो अवस्था तोड्ने र प्रणालीलाई सही दिशामा लैजाने काम गरिरहेका छौँ।’

अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रमा देखिएका विकृति र बेथितिहरू हटाउने उद्देश्यसहित ‘क्लिन अप द मेस’ अभियान सञ्चालन गरिरहेको पनि बताए। देशप्रति निराशा फैलाउने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले युवाहरूलाई सुधारका लागि रचनात्मक सुझाव दिन आग्रह गरे।

‘यो देशमा केही हुँदैन, विदेश नै जानुपर्छ भन्ने सोच बदल्नुपर्छ। देश निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण छ,’ उनले भने। सुशासन, पारदर्शिता र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सरकार पाँच वर्षे स्पष्ट कार्ययोजनासहित अघि बढिरहेको समेत उनले बताए।

आइतबार, ३१ जेठ २०८३, १६ : १३

प्रतिक्रिया