राजस्व संकलन

सीमा नाकामा कडाइपछि नेपालगञ्ज भन्सारको राजस्व बढ्यो, स्थानीय बजार पनि चलायमान

मंगलबार, ०२ असार २०८३, ०९ : २२

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा रु १०० भन्दा बढी मूल्यका वस्तुमा अनिवार्य भन्सार शुल्क लागू गरिएपछि नेपालगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा उल्लेख्य सुधार देखिएको छ। नाकामा कडाइ गरिएसँगै राजस्व मात्रै बढेको छैन, नेपालगञ्जको स्थानीय व्यापार व्यवसायसमेत चलायमान हुन थालेको बताइएको छ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार नयाँ व्यवस्थापछि चैत र वैशाख महिनामा राजस्व संकलनमा सकारात्मक प्रभाव परेको छ। फागुनमा रु १ अर्ब ९३ करोड ३८ लाख १९ हजार राजस्व संकलन भएकोमा चैतमा यो रकम बढेर रु २ अर्ब १४ करोड २५ लाख ५४ हजार पुगेको थियो। वैशाखमा भने रु १ अर्ब ८४ करोड २८ लाख २१ हजार राजस्व उठेको छ।

सीमावर्ती भारतीय बजार रुपैडिहाबाट दैनिक उपभोग्य वस्तु खरिद गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न भन्सारमा कडाइ गरिएको र त्यसको प्रत्यक्ष असर राजस्व तथा स्थानीय व्यापार दुवै क्षेत्रमा देखिएको पौडेलले बताए।

चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो १० महिनामा नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यको करिब ६८ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयलाई वार्षिक रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व संकलनको लक्ष्य दिइएकोमा वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार संकलन भएको छ।

यता, नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले सीमा नाकामा कडाइ गरिएपछि नेपाली उपभोक्ताको सीमापारि किनमेल गर्ने क्रम घटेको र त्यसले स्थानीय बजारमा कारोबार बढाउन सहयोग पुगेको बताए। उनका अनुसार पछिल्ला महिनामा नेपालगञ्जका व्यवसायीहरूमा समेत उत्साह थपिएको छ।

मंगलबार, ०२ असार २०८३, ०९ : २२

प्रतिक्रिया