स्वास्थ्य बीमा दाबीबापत थप ९१ करोड भुक्तानी हुँदै, २०२ अस्पताल लाभान्वित

मंगलबार, ०२ असार २०८३, ११ : ४९

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दाबी भुक्तानी अन्तर्गत विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको कार्यभार सम्हालेसँगै स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत जेठ १३ गते स्वास्थ्य बीमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। यस्तै, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको थियो भने जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो।

सरकारले अघिल्लो आर्थिक वर्षदेखि थाँती रहेको स्वास्थ्य बीमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी बक्यौता रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थाहरूको बक्यौता भुक्तानीलाई निरन्तरता दिँदै स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास बढाउने तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

हाल थप ९१ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानीको प्रक्रियामा गएसँगै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पतालहरूको बक्यौता दायित्व क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ।

मंगलबार, ०२ असार २०८३, ११ : ४९

प्रतिक्रिया