काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
स्रोतका अनुसार अर्याललाई मंगलबार नियन्त्रणमा लिइएको हो। राहदानी (पासपोर्ट) आपूर्तिसम्बन्धी विषयमा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएर बयान लिने काम भइरहेको बताइएको छ।
‘सोधपुछको प्रक्रिया जारी छ,’ अख्तियार निकट स्रोतले जनाएको छ। अर्याल सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। त्यसको भोलिपल्ट नै अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।
यसै प्रकरणमा व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ। सिद्धार्थ नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन्।
अख्तियारले राहदानी आपूर्ति प्रक्रियासम्बन्धी विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ। हालसम्म आयोगले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।
प्रतिक्रिया