सुनचाँदी व्यवसाय

सरकारको राजधानी केन्द्रित नीतिले सुनचाँदी व्यवसायी मारमा, जिल्लाबाटै सय ग्राम बार सुन उपलब्ध गराउन अध्यक्ष साहको माग

मंगलबार, ०२ असार २०८३, १६ : ०७

काठमाडौं– सरकारले राजधानी केन्द्रित नीति, नियम तथा कानुन निर्माण गर्दा उपत्यका बाहिर रहेका देशभरका सुनचाँदी व्यवसायी प्रत्यक्ष रूपमा प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष रामजी साहले बताएका छन् । उनले सुनको आपूर्ति, भन्सार दर तथा व्यवसायीमैत्री नीतिको अभावले व्यवसाय संकटमा पर्दै गएको भन्दै तत्काल सुधारको माग गरेका छन् ।

अध्यक्ष साहले देशका सबै जिल्लाका व्यवसायीलाई समान अवसर प्रदान गर्न हरेक जिल्लाको सदरमुकामस्थित बैंकबाट एक सय ग्राम बार सुन उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनका अनुसार, हालको केन्द्रीकृत प्रणालीका कारण व्यवसायीहरूले सुन खरिदका लागि काठमाडौंमा निर्भर रहनुपर्ने अवस्था रहेको छ, जसले समय, लागत र व्यवसाय सञ्चालनमा थप कठिनाइ सिर्जना गरेको छ ।

उनले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुनचाँदीमा भन्सार दर वृद्धि गर्दा व्यवसायी, उपभोक्ता र सरकार तीनै पक्षलाई घाटा हुने अवस्था सिर्जना भएको दाबी गरे । नेपालमा सुनको मूल्य छिमेकी भन्दा महँगो भएपछि खुला सीमाको फाइदा उठाउँदै नेपाली उपभोक्ताहरू सुन खरिदका लागि भारततर्फ आकर्षित हुन थालेको उनको भनाइ छ ।

‘सरकारले भन्सार दर वृद्धि गरेर राजस्व बढ्ने अपेक्षा गरेको हुन सक्छ, तर व्यवहारमा यसको असर उल्टो देखिएको छ,’ उनले भने, ‘उपभोक्ता भारततर्फ आकर्षित हुँदा नेपाली बजारको कारोबार घटेको छ, जसले व्यवसायीलाई मात्र होइन सरकारको राजस्व संकलनलाई समेत प्रभावित पार्नेछ ।’

अध्यक्ष साहका अनुसार, विशेषगरी मधेश प्रदेश तथा सीमावर्ती क्षेत्रका सुनचाँदी व्यवसायीहरू अहिले सबैभन्दा बढी मारमा परेका छन् । व्यापारिक गतिविधि उल्लेखनीय रूपमा घट्दा कतिपय व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् भने केही व्यवसायीले आफ्नो लगानीसमेत सुरक्षित राख्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए ।

उनले सुनचाँदी व्यवसायलाई संरक्षण गर्न भन्सार दर पुनरावलोकन गरी घटाउनुपर्ने, सुनको आपूर्ति सहज बनाउनुपर्ने तथा व्यवसायीमैत्री नीति, नियम र कानुन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । सरकारले समयमै व्यवसायीका माग सम्बोधन नगरे देशभर हजारौं व्यक्तिले रोजगारी गुमाउन सक्ने र ठूलो संख्यामा व्यवसायी पलायन हुन सक्ने चेतावनी समेत दिए ।

अध्यक्ष साहले सुनचाँदी क्षेत्र केवल व्यापारसँग मात्र सम्बन्धित नभई हजारौं कालिगढ, कामदार र साना उद्यमीको जीविकोपार्जनसँग जोडिएको क्षेत्र भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार, सुनको सहज आपूर्ति, उचित भन्सार दर र व्यवसायीमैत्री वातावरण निर्माण गर्न सके सुनचाँदी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा थप योगदान पुर्याउनेछ ।

उनले देशभरका व्यवसायीलाई समान अवसर र सहज व्यापारिक वातावरण उपलब्ध गराउन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिँदै हरेक जिल्लाको सदरमुकामस्थित बैंकबाट सय ग्राम बार सुन उपलब्ध गराउने व्यवस्था तत्काल लागू गर्न आग्रह गरेका छन् ।
 

मंगलबार, ०२ असार २०८३, १६ : ०७

प्रतिक्रिया