जनकपुरधाम- मधेस प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीले सात महिनादेखि तलब तथा अन्य सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्।
आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै उनीहरूले जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धर्ना दिएका छन्। आन्दोलनरत कर्मचारीका अनुसार गत कात्तिक महिनादेखि हालसम्मको तलब, चाडपर्व भत्ता तथा अन्य सेवा–सुविधा उपलब्ध गराइएको छैन।
प्रयोगशालाकर्मी अनिल महतोले चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको म्याद थप तथा सेवा सम्झौता नवीकरण प्रक्रिया टुंगो नलागेकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताए।
संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले सम्बन्धित निकायलाई पटक–पटक लिखित तथा मौखिक रूपमा समस्या जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। उनले कर्मचारीका जायज मागप्रति सरकार उदासीन बनेको आरोप लगाए।
आन्दोलनरत कर्मचारीहरूले मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न माग गरेका छन्।
उनीहरूले रोकिएको तलब तत्काल भुक्तानी, सेवा सम्झौता नवीकरण, पोशाक भत्ता, जोखिम भत्ता तथा महँगी भत्ता उपलब्ध गराउनुपर्ने माग राखेका छन्। मागहरू यथाशीघ्र सम्बोधन नगरिए आन्दोलनलाई थप सशक्त र कडा बनाइने चेतावनी समेत प्रयोगशालाकर्मीहरूले दिएका छन्।
प्रतिक्रिया