काठमाडौं- अमेरिका र इरानबीच भएको प्रारम्भिक शान्ति समझदारी तथा स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने अपेक्षासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ।
विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ हर्मुज खुल्ने संकेत पाएपछि तेल आपूर्तिमा अवरोध हुने चिन्ता कम भएको र त्यसको प्रत्यक्ष प्रभाव मूल्यमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मंगलबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले घटेर प्रतिव्यारेल ८० डलरभन्दा तल पुगेको छ। अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) को मूल्य पनि ४ प्रतिशतभन्दा बढीले घटेको छ। यो गिरावट पछिल्ला तीन महिनाकै सबैभन्दा ठूलोमध्ये एक मानिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति समझदारीपछि स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने बताएका छन्। यद्यपि, मार्ग पूर्ण रूपमा सामान्य हुन अझै केही समय लाग्न सक्ने विश्लेषकहरूको भनाइ छ।
स्ट्रेट अफ हर्मुज विश्वकै सबैभन्दा महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक हो। विश्वभर निर्यात हुने कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को ठूलो हिस्सा यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यहाँको अवस्थाले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ।
बजार विश्लेषकहरूका अनुसार मध्यपूर्वमा तनाव कम हुने र ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै जाने अपेक्षाले लगानीकर्ताको मनोबल बढाएको छ। त्यसैले पछिल्ला दिनमा तीव्र उतारचढाव देखिएको तेल बजारमा मूल्य घट्ने क्रम जारी रहेको छ।
यद्यपि, शान्ति समझदारी भए पनि हर्मुजमार्फत तेल ढुवानी पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्न सक्ने विश्लेषकहरूले बताएका छन्। जहाज सञ्चालन, बीमा तथा सुरक्षा व्यवस्थासम्बन्धी अनिश्चितता कायमै रहेकाले बजारमा केही समय उतारचढाव जारी रहने अनुमान गरिएको छ।
ऊर्जा आपूर्तिको प्रमुख नाकाका रूपमा रहेको स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा सञ्चालनमा आएमा आगामी दिनमा तेलको मूल्यमा थप दबाब पर्न सक्ने र विश्वव्यापी ऊर्जा बजारमा स्थिरता आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया