काठमाडौं- नेपाली कांग्रेसका सचेतक निष्कल राईले नेपाली चिया निर्यातमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले तेस्रो मुलुकमा निर्यात बजार सुनिश्चित गर्न पहल गर्नुपर्ने माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राईले गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेपछि इलामका अधिकांश चिया उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले चिया उद्योग बन्द हुँदा किसान, श्रमिक र उद्योगीहरू गम्भीर संकटमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारले प्रभावकारी पहल गर्न नसकेको गुनासो गरे। भारतसँग तत्काल कूटनीतिक संवाद गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन सक्रिय हुन उनले सरकारसँग आग्रह गरे।
राईका अनुसार भारतीय चिया बोर्डले लागू गरेको ‘एसओपी’ (स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर) नामक नयाँ मापदण्डले नेपाली चिया उद्योगलाई प्रत्यक्ष असर गरेको छ। उक्त मापदण्ड पूरा गर्न नसक्ने चिया नष्ट गर्नुपर्ने व्यवस्था रहेकाले इलामका ८३ भन्दा बढी चिया उद्योग प्रभावित बनेका छन्।
‘इलामका चिया उद्योग र किसानहरूले फ्याक्ट्रीमा ताला झुन्ड्याएको तीन दिन भइसक्यो, तर यति संवेदनशील विषयमा पनि सरकारको ध्यान पुगेको देखिँदैन,’ राईले संसदमा भने।
उनले चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको, श्रमिकहरूले रोजगारी गुमाएको तथा उद्योगीहरू बैंकको ऋण र ब्याज तिर्नसमेत कठिन अवस्थामा पुगेको बताए। चिया क्षेत्र हजारौं परिवारको आयआर्जन र जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै राईले तत्काल र दीर्घकालीन दुवै उपाय अपनाउन सरकारलाई आग्रह गरे।
उनले सरकारसँग भारतसँग जीटुजी (सरकार–सरकार) तहमा संवाद अघि बढाउन, कूटनीतिक पहल तीव्र बनाउन, चियाको गुणस्तर परीक्षणका लागि आधुनिक टेस्टिङ ल्याब स्थापना गर्न तथा तेस्रो मुलुकमा निर्यात बजार विस्तार गर्न माग गरेका छन्।
‘चिया निर्यात खुलाउन तत्काल पहल गरियोस्, गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरियोस् र नेपाली चियाका लागि वैकल्पिक अन्तर्राष्ट्रिय बजार सुनिश्चित गरियोस्,’ राईले भने।
प्रतिक्रिया