काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनका लागि प्रतिनिधि शुल्क निर्धारण गरेको छ। पार्टीले प्रत्येक प्रतिनिधिका लागि ५ हजार रुपैयाँ शुल्क तोकेको हो।
रास्वपाको निर्वाचन आयोगका अनुसार पर्यवेक्षकका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। साथै, पर्यवेक्षकका रूपमा सहभागी हुन चाहनेहरूका लागि थप २ हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको जानकारी दिइएको छ।
पार्टीले आर्थिक रूपमा विपन्न सदस्यहरूको सहभागिता सुनिश्चित गर्न सहायता कोष सञ्चालन गर्ने निर्णय समेत गरेको जनाएको छ। निर्वाचन आयोगका अनुसार महाधिवेशनमा करिब ३ हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ।
रास्वपाले आफ्नो प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने तयारी गरेको छ। पार्टी स्थापना भएको चार वर्ष पूरा भएकै दिनबाट महाधिवेशन सुरु गरिने कार्यक्रम तय गरिएको छ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक दिशा, संगठन विस्तार र नीति निर्माणसम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया