काठमाडौं- संयुक्त राज्य अमेरिका र इरानबीच युद्धविराम तथा शान्ति समझदारी भएपछि अन्तर्राष्ट्रिय तेल बजारमा तीव्र गिरावट देखिएको छ। मध्यपूर्वमा लामो समयदेखि जारी तनाव कम हुने संकेतसँगै विश्व ऊर्जा बजारमा राहतको वातावरण बनेको हो।
समाचार तयार पार्दासम्म ब्रेन्ट क्रुड आयलको मूल्य करिब २ प्रतिशतभन्दा बढी घटेर प्रतिव्यारेल ७७।७७ डलरमा कारोबार भइरहेको छ भने अमेरिकी डब्लुटिआई (WTI) क्रुड पनि ७५ डलर आसपास झरेको छ। तेल बजारमा आएको यो गिरावट अमेरिका–इरान समझदारीपछि आपूर्ति सहज हुने अपेक्षासँग जोडिएको छ।
विश्लेषकहरूका अनुसार शान्ति सम्झौताले विश्वकै महत्वपूर्ण ऊर्जा ढुवानी मार्ग मानिने हर्मुज पुनः सञ्चालन हुने सम्भावना बढाएको छ। युद्धका कारण प्रभावित बनेको उक्त जलमार्ग खुल्ने संकेतसँगै बजारमा आपूर्ति अवरोधको जोखिम घटेको छ।
पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले अमेरिका–इरानबीच भएको समझदारी तत्काल कार्यान्वयनमा जाने जानकारी दिएका छन्। समझदारीअनुसार इरानले होर्मुज जलडमरूमध्यमा सुरक्षित आवागमन सुनिश्चित गर्ने तथा अमेरिकाले इरानी तेलमाथिका केही प्रतिबन्धहरू खुकुलो बनाउने प्रक्रिया अघि बढाउने बताइएको छ।
यद्यपि, अन्तर्राष्ट्रिय जलयातायात कम्पनीहरू अझै पूर्ण रूपमा विश्वस्त देखिएका छैनन्। जहाज मालिकहरूले सुरक्षा व्यवस्था, मार्ग सञ्चालन र जोखिम सम्बन्धी थप स्पष्टता नआएसम्म सावधानी अपनाइरहेका छन्।
तेल मूल्यमा दबाब बढ्नुको अर्को कारण विश्व आपूर्ति बढ्ने अनुमान पनि हो। ऊर्जा बजारमा आगामी वर्षहरूमा आपूर्ति वृद्धि मागभन्दा धेरै हुने प्रक्षेपणले पनि मूल्यलाई तलतिर धकेलिरहेको विश्लेषण गरिएको छ।
यद्यपि शान्ति समझदारीले तत्कालका लागि ऊर्जा बजारलाई राहत दिएको भए पनि यसको दीर्घकालीन प्रभाव भने अझै अनिश्चित छ। आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध र क्षेत्रीय सुरक्षाजस्ता विषयमा अन्तिम सहमति हुन बाँकी रहेकाले बजारले आगामी वार्ता प्रक्रियालाई नजिकबाट नियालिरहेको छ।
प्रतिक्रिया