राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित

शुक्रबार, ०५ असार २०८३, १६ : ०१

काठमाडौं- प्रतिनिधिसभाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको राष्ट्र ऋण उठाउन बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसहित प्रस्तुत विधेयक सर्वसम्मतिले पारित गरेको हो।

विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेट मुलुकको विद्यमान आर्थिक क्षमता र आवश्यकताका आधारमा तयार गरिएको बताए। उनले ऋणको वास्तविक अवस्था मूल्याङ्कन गर्दा अर्थतन्त्रको आकारको अनुपातमा ऋणभारलाई हेर्नुपर्नेमा जोड दिए। हाल मुलुकको सार्वजनिक ऋण करिब ३० खर्ब रुपैयाँ पुगेको जानकारी पनि उनले सभालाई गराए।

अर्थमन्त्री वाग्लेले सरकारले आर्थिक अनुशासन कायम राख्दै सन्तुलित आकारको बजेट ल्याएको उल्लेख गर्दै ऋणको भार अनावश्यक रूपमा नबढाइएको दाबी गरे।

“तुलनात्मक रूपमा ऋण पनि थपिएको छैन र बजेट पनि सन्तुलित आकारको छ। आन्तरिक राजस्व परिचालन गरेर बजेट कार्यान्वयन गर्छौं,” उनले भने।

सरकारले आगामी आर्थिक वर्षका लागि विकास निर्माण, सामाजिक क्षेत्र तथा आर्थिक सुधारका कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत व्यवस्थापनका लागि उक्त विधेयक ल्याएको हो।

शुक्रबार, ०५ असार २०८३, १६ : ०१

प्रतिक्रिया