बागमती- बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ। यो राष्ट्रिय साक्षरता दर ७६.२ प्रतिशतभन्दा उल्लेखनीय रूपमा बढी हो।
आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिए पनि बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जसमा बागमती प्रदेशको योगदान ३६.७ प्रतिशत अर्थात् २४ खर्ब २३ अर्ब रुपैयाँ रहने अपेक्षा गरिएको छ।
त्यसैगरी, मुलुकको प्रतिव्यक्ति आय एक हजार ५३५ अमेरिकी डलर रहने अनुमान गरिँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेशमध्ये उच्च, दुई हजार ६४४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
गरिबीको अवस्थातर्फ हेर्दा राष्ट्रिय निरपेक्ष गरिबी दर २०.२७ प्रतिशत र बहुआयामिक गरिबी दर १७.४ प्रतिशत रहेको अवस्थामा बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७ प्रतिशत मात्र रहेको प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा उल्लेख गरिएको छ।
प्रदेश सरकारले शिक्षा, आर्थिक गतिविधि र मानव विकासका सूचकमा बागमती प्रदेश देशकै अग्रणी प्रदेशका रूपमा रहेको जनाएको छ।
प्रतिक्रिया