काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संस्थापक नेता जनार्दन शर्माले सम्पत्ति छानबिन हुनुपर्ने विषयमा आफूले विगतदेखि नै आवाज उठाउँदै आएको र त्यसमा आफ्नो अडान अहिले पनि यथावत रहेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले सम्पत्ति छानबिनको विषय आफूले प्रतिनिधिसभा र तत्कालीन नेकपा (माओवादी केन्द्र) भित्र समेत उठाएको स्मरण गराएका छन्। उनले यस विषयमा आफू अहिले पनि दृढ रहेको उल्लेख गरेका छन्।
शर्माले पछिल्लो समय आफूलाई जोडेर विभिन्न किसिमका भ्रम फैलाउने प्रयास भइरहेको दाबी गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सरोकार नै नभएको विषयलाई जोडेर मिडिया ट्रायलमार्फत जनमानसमा भ्रम सिर्जना गर्न खोजिएको उनको आरोप छ।
‘सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु। तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रतिक्रिया