काठमाडौं- पछिल्लो समय बजारमा देखिएको सुस्तता, घट्दो कारोबार तथा उपभोक्ताको कमजोर खरिद क्षमताका कारण नेपालमा सुनचाँदी व्यवसाय प्रभावित बन्दै गएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष गणेशप्रसाद लकान्द्रीले बताएका छन् । सुनको मूल्य निरन्तर बढ्दै जानु, आर्थिक गतिविधि अपेक्षाकृत कमजोर रहनु तथा उपभोक्तामा खर्च गर्ने क्षमता घट्नुका कारण व्यवसायीहरूले चुनौतीपूर्ण अवस्था सामना गरिरहेको उनले बताए ।
कोषाध्यक्ष लकान्द्रीका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य उच्च बनेको छ । मूल्य बढेपछि सामान्य उपभोक्ताले नयाँ गरगहना खरिद गर्न हिच्किचाउने गरेको उनले बताए । ‘सुनको मूल्य बढ्दै जाँदा ग्राहक पसलसम्म आए पनि खरिद नगरी फर्किने अवस्था बढेको छ । धेरैजसो ग्राहकले नयाँ गहना खरिद गर्नुको सट्टा पुराना गहना साटासाट गर्ने वा मर्मत गर्ने विकल्प रोजिरहेका छन्,’ कोषाध्यक्ष लकान्द्री आजको अर्थसँगको कुराकानीमा भने ।
उनले बजारमा कारोबारको गति विगतको तुलनामा घटेको उल्लेख गर्दै व्यवसायीहरूलाई दैनिक सञ्चालन खर्च व्यवस्थापन गर्न समेत कठिन हुन थालेको गुनासो गरे । ‘व्यवसाय सञ्चालनका लागि पसल भाडा, कर्मचारी तलब, सुरक्षा व्यवस्थापन तथा करलगायतका खर्च निरन्तर बढिरहेका छन् तर कारोबार भने सोही अनुपातमा बढ्न सकेको छैन,’ लकान्द्री भन्छन् ।
कोषाध्यक्ष लोकन्द्रीले सुनचाँदी व्यवसायमा आर्थिक मन्दीको प्रभाव प्रत्यक्ष रूपमा परेको बताए । उनका अनुसार, नागरिकको आम्दानी वृद्धि हुन नसक्दा तथा उपभोग्य क्षमता कमजोर हुँदा सुनचाँदी जस्ता विलासी तथा दीर्घकालीन उपभोगका वस्तुको बिक्रीमा असर परेको छ । विवाह, व्रतबन्ध तथा चाडपर्व जस्ता विशेष अवसरबाहेक अन्य समयमा बजार निकै सुस्त रहने गरेको उनको भनाइ छ ।
उनले सुनचाँदी व्यवसाय केवल व्यापारसँग मात्र नभई हजारौं कालीगढ, श्रमिक तथा साना व्यवसायीको जीविकोपार्जनसँग जोडिएको क्षेत्र भएकाले यस क्षेत्रको संरक्षण आवश्यक रहेको औंल्याए । ‘बजार चलायमान भएन भने यसको असर पसलधनी मात्र होइन, उत्पादनमा संलग्न कालीगढ, श्रमिक र सम्बन्धित अन्य व्यवसायमा समेत पर्छ,’ उनले स्पष्ट पारे ।
लकान्द्रीले बजारलाई चलायमान बनाउन सरकारले आर्थिक गतिविधि बढाउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा व्यवसायमैत्री नीति अवलम्बन गर्नुपर्ने बताए । साथै, उपभोक्ताको विश्वास
अभिवृद्धि गर्न गुणस्तरीय सेवा, पारदर्शी कारोबार र आधुनिक डिजाइनका गहनाको उत्पादनमा जोड दिनुपर्ने उनको धारणा छ ।
‘सुनचाँदी नेपाली समाजको संस्कृति, परम्परा र आर्थिक सुरक्षासँग जोडिएको क्षेत्र हो । वर्तमान चुनौतीका बाबजुद व्यवसायीहरू उपभोक्तालाई गुणस्तरीय सेवा दिन प्रतिबद्ध छन् । सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउन सके बजारमा पुनः उत्साह ल्याउन सकिन्छ,’ कोषाध्यक्ष लकान्द्रीले जोड दिए ।
प्रतिक्रिया