काठमाडौं- विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताइन्।
महानगरले आगामी आर्थिक वर्षमा सङ्घीय तथा प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र बैंक मौज्दातसमेत गरी ३ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ आय हुने अनुमान गरेको छ। खर्चतर्फ भने सशर्त कार्यक्रमसहित कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरिएको छ।
बजेटमा सबैभन्दा ठूलो हिस्सा पूर्वाधार विकास क्षेत्रले पाएको छ। यस शीर्षकमा १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ। वडा स्तरीय योजनाका लागि ४३ करोड ४६ लाख ३२ हजार, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि १५ करोड, ठेक्का तथा दायित्व सरेका योजनाका लागि २५ करोड र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ।
सडक, सहरी विकास तथा आधारभूत पूर्वाधार विस्तारलाई समेत प्राथमिकतामा राखिएको छ। विद्युत् व्यवस्थापनका लागि १ करोड ६० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख तथा मर्मत सम्भार कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ।
सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ छुट्याइएको छ। शिक्षाका लागि १० करोड ५ लाख २८ हजार, स्वास्थ्य क्षेत्रमा ६ करोड ३ लाख ५० हजार, महिला विकासका लागि ६६ लाख, बालबालिका लक्षित कार्यक्रमका लागि ४८ लाख ५० हजार तथा सङ्घसंस्थालाई अनुदानका लागि ६ करोड ३१ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।
आर्थिक विकासतर्फ ३ करोड २६ लाख ३७ हजार रुपैयाँ प्रस्ताव गरिएको छ। कृषि, पशुपन्छी, सहकारी, उद्यमशीलता, रोजगार प्रवर्द्धन तथा पर्यटन विकाससम्बन्धी कार्यक्रमहरू यस शीर्षकअन्तर्गत सञ्चालन गरिने जनाइएको छ।
यस्तै सुशासन तथा संस्थागत विकासका लागि २ करोड ३३ लाख १० हजार रुपैयाँ र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५६ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ। फोहोरमैला व्यवस्थापनका लागि १ करोड २५ लाख र विपद् व्यवस्थापनका लागि ९६ लाख रुपैयाँ छुट्याइएको छ।
महानगरले आगामी आर्थिक वर्षमा आन्तरिक आयबाट १ अर्ब २७ करोड २० लाख रुपैयाँभन्दा बढी संकलन गर्ने लक्ष्य राखेको छ। नगरसभा नागेश कोइराला को अध्यक्षतामा सुरु भएको हो।
प्रतिक्रिया