आर्थिक संकटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

आइतबार, १४ असार २०८३, १५ : ४६

काठमाडौं- आर्थिक संकटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन बन्द भएका छन् ।  पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत कार्यक्रममा १२९ वटा रेडियोमध्ये ४४ वटा बन्द भएको जनाइएको छ । 

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले १६ वटा सामुदायिक रेडियोसहित ४४ वटा बन्द भएको बताए । उनले कार्यक्रममा आर्थिक अस्थिरता र बजार अभावका कारण रेडियोसहितका सञ्चारमाध्यम बन्द हुन थालेको सम्मेलनमा प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेका छन् । 

उनले यहाँका सञ्चारमाध्यमलाई प्रोत्साहन गर्न कोशी प्रदेश सरकारले आदिवासी, जनजाति र लोपोन्मुख समुदायले मातृभाषामा सञ्चालन गरेका मिडियालाई विशेष सहयोगको नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्न आवश्यक देखिएको बताए ।

प्रदेशको पत्रकारिता क्षेत्रमा अभूतपूर्व अवसर र गम्भीर चुनौतीको दोबाटोमा उभिएको हुँदा पेसागत असुरक्षा र प्रविधिगत चुनौतीहरूलाई सही नीति र तत्परताका साथ सम्बोधन गर्न सकिए मात्र मोफसलको पत्रकारिता अझ सशक्त र आत्मनिर्भर बन्नसक्ने उनको भनाइ छ । 

विश्वसनीयता र स्वतन्त्रतालाई कायम राख्दै आधुनिक डिजिटल प्रविधिसँग अनुकूलन हुनसके कोशी प्रदेशको पत्रकारिता क्षेत्र मुलुककै लागि एक अनुकरणीय र उदाहरणीय नमुना बन्नसक्ने उनले बताए । 

कोशी प्रदेशमा नियमित प्रकाशित पत्रपत्रिका ९६ वटा रहेका छन् । जसमा दैनिक १७ वटा, साप्ताहिक ७३ वटा, मासिक चार वटा, द्वैमासिक एक र त्रैमासिक एक रहेका छन् ।

इलेक्ट्रोनिक मिडियाअन्तर्गत टेलिभिजन सात वटा, एफएम रेडियो कूल दर्ता भएका १२९ वटामध्ये ८५ वटा सञ्चालनमा रहेको काजीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहमा दर्ता रहेको एउटै मात्र एफएम रेडियो आठराई हो । प्रदेशमा अनलाइन सञ्चारमाध्यम ३९७ वटा रहेका छन् ।
 

आइतबार, १४ असार २०८३, १५ : ४६

प्रतिक्रिया