काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् राखिएको छ। मूल्य बढ्दा तत्काल समायोजन गर्ने सरकार र नेपाल आयल निगम अहिले भने मूल्य घटाउने विषयमा विभिन्न प्राविधिक कारण देखाउँदै उपभोक्तालाई राहत दिन ढिलाइ गरिरहेका छन्।
विश्व बजारमा मध्यपूर्व तनावका कारण केही समय तीव्र रूपमा उकालो लागेको कच्चा तेलको मूल्य अहिले युद्धअघिकै स्तरभन्दा पनि तल झरेको छ। तर त्यसको प्रत्यक्ष लाभ नेपाली उपभोक्ताले अझै पाउन सकेका छैनन्।
अन्तर्राष्ट्रिय बजारको तथ्यांकअनुसार फेब्रुअरी अन्त्यतिर अमेरिका–इजरायल र इरानबीच बढेको तनावपछि ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल करिब ७६ अमेरिकी डलरबाट बढेर ११० डलरभन्दा माथिसम्म पुगेको थियो। पछिल्लो समय युद्धविराम, आपूर्ति प्रणालीमा सुधार तथा व्यापारिक मार्ग सहज बन्दै गएपछि मूल्य पुनः घटेको छ।
हाल ब्रेन्ट क्रुड प्रतिव्यारेल ७२–७३ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ भने डब्लुटीआई (WTI) कच्चा तेलको मूल्य पनि ६९–७० अमेरिकी डलरको आसपास झरेको छ। अघिल्लो महिनाको तुलनामा मात्रै ब्रेन्ट क्रुडको मूल्य २० प्रतिशतभन्दा बढीले घटेको अन्तर्राष्ट्रिय बजारले देखाएको छ।
कच्चा तेल सस्तो भएसँगै प्रशोधित पेट्रोलियम पदार्थको लागत पनि घट्नुपर्ने भए पनि नेपालमा भने पेट्रोल र डिजेलको मूल्य पुरानै दरमा कायम छ। यसले उपभोक्तामाथि अनावश्यक आर्थिक भार परेको गुनासो बढ्दो छ।
यता नेपाल आयल निगमको मूल्य समायोजन प्रक्रियामाथि पनि प्रश्न उठ्न थालेको छ। मूल्य बढ्नेबित्तिकै तत्काल समायोजन गरिने तर घट्ने बेला भने प्राविधिक प्रक्रिया र समयतालिकाको बहाना बनाइने गरेको भन्दै उपभोक्ताले निगमको कार्यशैलीको आलोचना गरेका छन्।
निगमले भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा हवाई इन्धन र एलपी ग्यासको मूल्य प्रत्येक महिनाको १ गते तथा पेट्रोल र डिजेलको मूल्य १ र १६ गते मात्रै समायोजन गरिने बताउँदै आएको छ। तर यही कार्यतालिका विगतमा भने निरन्तर पालना भएको देखिँदैन।
विशेषगरी २०८२ चैत महिनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले एकै महिनाभित्र पाँच पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको थियो। अहिले भने विश्व बजारमा मूल्य घटिरहेको अवस्थामा पनि निगमले तत्काल समायोजन नगरेको भन्दै उपभोक्ताले दोहोरो मापदण्ड अपनाइएको आरोप लगाएका छन्।
यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले भने पेट्रोलियम पदार्थको मूल्य छिट्टै घट्ने बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्य परिवर्तनको प्रभाव नेपालमा आउन केही समय लाग्ने बताए।
उनले भने, "केही समय लाग्छ। इन्धन भारतीय आयल निगममार्फत आयात हुन्छ। मूल्य समायोजन भएर आउन केही समय लाग्ला। अब मूल्य घट्नेछ।"
यद्यपि उपभोक्ताहरूले मूल्य बढ्दा तत्काल निर्णय हुने तर घट्दा प्रक्रिया र प्राविधिक कारण देखाएर ढिलाइ गरिने प्रवृत्तिले सरकार र नेपाल आयल निगमको नियतमाथि नै प्रश्न उठाएको बताएका छन्। उनीहरूको माग अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटको लाभ समयमै नेपाली उपभोक्तासम्म पुग्नुपर्ने भन्ने रहेको छ।
प्रतिक्रिया