काठमाडौं – देशका विभिन्न स्थानमा भइरहेको वर्षाले साना तथा सहायक नदीहरूमा आजदेखि बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार ३४ भन्दा बढी जिल्ला भएर बहने साना नदी तथा खोलाहरूमा पानीको सतह उल्लेख्य बढ्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ र चितवनका साना नदीहरूमा बहाव बढ्ने सम्भावना छ।
यस्तै, कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, डोटी ९दिपायल क्षेत्र०, डडेल्धुरा, अछाम तथा आसपासका जिल्ला भएर बहने खोला तथा नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बाढीको जोखिम आजमा मात्र सीमित रहने छैन। भोलि र पर्सि पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश साना नदी तथा खोलामा बहाव अचानक बढ्न सक्ने अनुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा पनि आकस्मिक बहाव बढ्ने सम्भावना रहेको छ।
यद्यपि, देशका प्रमुख नदीहरूको अवस्था भने हाल सामान्य रहेको महाशाखाले स्पष्ट पारेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीहरू पनि हाल सुरक्षित अवस्थामै रहेका छन्।
महाशाखाले विशेषगरी साना नदी, खोला तथा तटीय क्षेत्र आसपास बसोबास गर्ने स्थानीय बासिन्दा, यात्रु र निर्माण कार्यमा संलग्नलाई मौसम र बाढीसम्बन्धी सूचना निरन्तर पछ्याउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया