काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सरकारले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरे पनि एक सातासम्म पदबहाली हुन नसक्दा निर्णय प्रक्रिया प्रभावित बनेको छ । करिब ६९ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरका आईपीओ प्रस्ताव स्वीकृतिको पर्खाइमा रहेका छन्।
बोर्डको पछिल्लो तथ्यांकअनुसार १०४ कम्पनीले ४७ करोड २८ लाख ९४ हजार १६३ कित्ता साधारण सेयर (आईपीओ) निष्कासनका लागि अनुमति माग्दै आवेदन दिएका हुन् ।
क्षेत्रगत रूपमा हेर्दा उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। यस क्षेत्रका ३० कम्पनीले ३५ अर्ब ३५ करोड २२ लाख ८८ हजार रुपैयाँ बराबरको १६ करोड ६४ लाख २५ हजार ५३ कित्ता सेयर निष्कासनको प्रस्ताव गरेका छन्। यीमध्ये जगदम्बा स्टिल्स, अम्बे स्टिल्स, सौर्य सिमेन्ट, मारुती सिमेन्ट्स, लक्ष्मी टेक्नोप्लास्टिक, श्री डिस्टिलरी, महाशक्ति सिमेन्ट र भूगर्भ सिमेन्ट प्रमुख छन्।
जलविद्युत् क्षेत्र दोस्रो स्थानमा रहेको छ। यस क्षेत्रका ३४ कम्पनीले १७ अर्ब ५० करोड ३१ लाख रुपैयाँ बराबरको १७ करोड १४ लाख ८३ हजार ७३६ कित्ता आईपीओ निष्कासनको अनुमति मागेका छन्।
त्यस्तै, होटल तथा पर्यटन क्षेत्रका १८ कम्पनीले ६ अर्ब ४५ करोड १३ लाख रुपैयाँ बराबरको पाँच करोड ८२ लाख १३ हजार ९३० कित्ता सेयर निष्कासनको प्रस्ताव गरेका छन्।
अन्य व्यावसायिक समूहका १४ कम्पनीले ५ अर्ब ९० करोड ९९ लाख रुपैयाँ बराबरको चार करोड ८६ लाख २१ हजार ६९ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्। यस्तै, लगानी समूहका पाँच कम्पनीले तीन अर्ब ४१ करोड ६० लाख रुपैयाँ बराबरको दुई करोड १४ लाख कित्ता तथा तीन माइक्रो इन्स्योरेन्स कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न प्रस्ताव गरेका छन्।
रकमका आधारमा जगदम्बा स्टिल्स को ६ अर्ब ६२ करोड रुपैयाँ बराबरको आईपीओ प्रस्ताव सबैभन्दा ठूलो छ। त्यसपछि सौर्य सिमेन्ट (५ अर्ब ३२ करोड), मारुती सिमेन्ट्स (४ अर्ब ९४ करोड), सिउरी न्यादी पावर (३ अर्ब ३ करोड) र रिद्धिसिद्धि सिमेन्ट (करिब २ अर्ब ९९ करोड) का प्रस्ताव रहेका छन्। यस्तै, श्री एयरलाइन्स ले १ अर्ब २६ करोड रुपैयाँ तथा डिस मिडिया नेटवर्क ले १ अर्ब ९७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति मागेका छन्।
हाल सेबोनमा मारुती सिमेन्ट्स, सौर्य सिमेन्ट इन्डस्ट्रिज, जगदम्बा स्टिल्स, हुलास इन्फ्रा, अम्बे स्टिल्स, हुलास आइरन इन्डस्ट्रिज, रिद्धिसिद्धि सिमेन्ट, भगवती स्टिल इन्डस्ट्रिज, छायादेवी कम्प्लेक्स, हुलास फिनसर्भ हायर पर्चेज, कैलाश हेलिकोप्टर, श्री एयरलाइन्स, नुम्बुर हिमालय हाइड्रोपावर र शिवम् होल्डिङ्स ले प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति मागेका छन्।
यसबीच सरकारले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा। गोपालप्रसाद भट्ट लाई सेबोनको अध्यक्ष नियुक्त गरे पनि एक सातासम्म उनले पदभार ग्रहण गर्न सकेका छैनन्। अध्यक्षको पदबहालीमा भएको ढिलाइले बोर्डका नीतिगत निर्णयसँगै आईपीओ स्वीकृति प्रक्रिया पनि प्रभावित भएको छ।
लामो समयदेखि अनुमति पर्खिरहेका कम्पनीहरूले नयाँ अध्यक्षले जिम्मेवारी सम्हालेपछि आईपीओ स्वीकृति प्रक्रियाले गति लिने अपेक्षा गरेका छन्। विगतमा आईपीओ स्वीकृतिमा अनियमितता तथा कमिसनसम्बन्धी विवाद उठ्दै आएको थियो ।
प्रतिक्रिया