काठमाडौंं– डिल्लीबजार, पिपलबोटस्थित कन्काई सुनचाँदी गहना एन्ड ज्वेलरी सप प्रा.लि.ले भारतको Gem & Jewellery Export Promotion Council (GJEPC) अन्तर्गत International Events का असिस्टेन्ट डाइरेक्टर अजय पुरोहितलाई स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल र भारतबीच सुनचाँदी तथा आभूषण व्यवसायलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी दुई देशबीच आभूषण तथा गरगहनाको आयात–निर्यात, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन, प्रदर्शनी तथा व्यवसायीबीच सहकार्य विस्तारका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।
भेटका क्रममा असिस्टेन्ट डाइरेक्टर अजय पुरोहितले नेपाल र भारतको सुनचाँदी तथा रत्न–आभूषण क्षेत्रबीच सहकार्यको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै दुवै देशका व्यवसायीबीच नियमित संवाद, अनुभव आदान–प्रदान र अन्तर्राष्ट्रिय प्रदर्शनीमा संयुक्त सहभागिताले व्यापार विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, कन्काई सुनचाँदी गहना एन्ड ज्वेलरी सप प्रा.लिका सञ्चालक एवम् नेपाल रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष गणेश प्रसाद लकान्द्रीले नेपाली आभूषण व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न GJEPC जस्ता संस्थासँगको सहकार्य महत्वपूर्ण हुने धारणा राखे । उनले सीप विकास, आधुनिक प्रविधिको प्रयोग, डिजाइन आदान–प्रदान तथा नयाँ बजारको खोजीमा संयुक्त पहल आवश्यक रहेको बताए ।
छलफलका क्रममा नेपाल–भारतबीच आभूषण व्यवसायलाई सहज बनाउन आवश्यक नीतिगत सहजीकरण, व्यापारिक सम्बन्ध सुदृढीकरण तथा आगामी दिनमा संयुक्त कार्यक्रम, प्रदर्शनी र व्यवसायिक भ्रमण आयोजना गर्ने विषयमा समेत सकारात्मक विचार आदान–प्रदान भएको कोषाध्यक्ष लकान्द्रीले जानकारी दिए ।
नेपाल र भारतका आभूषण व्यवसायीबीचको सहकार्यलाई थप मजबुत बनाउँदै दुवै देशको सुनचाँदी तथा गरगहना उद्योगको विकास र विस्तारमा यस्ता भेटघाटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया