रसुवामा ९ महिनामा साढे ३ करोडका अवैध सामान बरामद

मंगलबार, १६ असार २०८३, १४ : १२

रसुवा– चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद भएका छन्।

रसुवा भन्सार कार्यालयका अनुसार राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अभियानबाट उक्त मूल्यका सामान नियन्त्रणमा लिइएको हो।

भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार उक्त अवधिमा भन्सार कार्यालयले १५, जिल्ला प्रहरी कार्यालयले १९ र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले २३ पटक विभिन्न स्थानमा छापा तथा जाँच अभियान सञ्चालन गरेका थिए।

बरामद गरिएका सामग्रीमा चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोटलगायतका वस्तु रहेका छन्। भन्सार कार्यालयका अनुसार बरामद गरिएका सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढी खाद्य उपभोग्य वस्तु रहेका छन्।

सूचना अधिकारी गैह्रेले सुरक्षाकर्मीले प्रारम्भिक रूपमा बजार मूल्यका आधारमा सामानको मूल्यांकन गरे पनि अन्तिम मूल्य भने खाद्य गुण नियन्त्रण परीक्षण, अन्तर्राष्ट्रिय बजार मूल्य तथा मूल्य निर्धारण समितिको निर्णयका आधारमा निर्धारण गरिने बताए। बिक्रीयोग्य सामग्री लिलाम गरिने र उपभोगयोग्य नरहेका वस्तु सम्बन्धित निकायका प्रतिनिधिको रोहवरमा नष्ट गरिने व्यवस्था रहेको उनले जानकारी दिए।

जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार गस्ती, सवारीसाधन जाँच तथा प्राप्त सूचनाका आधारमा भेटिएका सबै प्रकारका अवैध सामग्री नियन्त्रणमा लिएर तत्काल भन्सार कार्यालयमा बुझाउने कार्यलाई निरन्तरता दिइएको छ।

यसैबीच, बिरामी ओसार्ने एम्बुलेन्समा चिनियाँ चुरोट लुकाएर ओसारपसार गरिएको घटनामा आमाछोदिङ्मो गाउँपालिकाको एम्बुलेन्स चालकलाई गत चैत ६ गते बेत्रावतीबाट प्रहरीले पक्राउ गरेको थियो। कानुनी प्रक्रिया पूरा भएपछि चालक धरौटीमा रिहा भएको तथा एम्बुलेन्स सम्बन्धित गाउँपालिकालाई फिर्ता बुझाइएको भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयले राजस्व चुहावट नियन्त्रण तथा अवैध आयात रोक्न सुरक्षा निकायसँगको संयुक्त अनुगमन र जाँचलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ।

मंगलबार, १६ असार २०८३, १४ : १२

प्रतिक्रिया