बाहुनडाँगीमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

बुधबार, १७ असार २०८३, १३ : ०१

विराटनगर– झापाको बाहुनडाँगी क्षेत्रमा जंगली  हात्तीको बढ्दो आतंकका कारण स्थानीयवासी  त्रसित बनेका छन् ।
    
हुलका हुल जंगली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो । 
    
हात्तीको आक्रमणबाट विगतमा २९ जना र यस वर्ष दुई जना गरी हालसम्म ३१ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । हमलाबाट जनतालाई जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा १७ दशमलव १४ किमीमा सोलार फेन्सी तार जडान गरिएको  थियो । हाल सोलारप्यानल जीर्ण अवस्थामा पुगेको छ ।  

बालीनाली नष्ट गर्ने, घर तोडफोड गर्ने र मानिसको ज्यानैसमेत लिने तथा चौपाया समेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने बताउनुहुन्छ, स्थानीय रमेश दाहाल । 

जिल्ला प्रशासन कार्यालय, झापाले त्यस क्षेत्रमा द्रुत प्रतिक्रिया टोली (आरआरटी), परिचालन गरेको बाहुनडाँगी गाविसका पूर्वध्यक्ष नीलकण्ठ तिवारीले जानकारी दिए । अतिरिक्त प्रशासनले जनपद र सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाउने गरेको छ । 

स्थानीयले हात्तीबाट जोगिन र बालीनाली जोगाउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रधानमन्त्री, जिल्ला प्रशासन कार्यालय झापामासमेत ज्ञापनपत्र बुझाईसकेका छन् । 

यहाँका जनताले ४० वर्षदेखि जंगली हात्तीको आतंक व्यहोर्दै आएका छन् ।  

बुधबार, १७ असार २०८३, १३ : ०१

प्रतिक्रिया