पत्रकार खेम भण्डारी पक्राउ

विहीबार, १८ असार २०८३, १० : ५३

काठमाडौं– गाली बेइज्जती मुद्दामा अदालतबाट दोषी ठहर भएका कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनका लागि नेपाल प्रहरीले बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी)  टेकबहादुर रावतका अनुसार भण्डारीलाई बिहान करिब ७ बजे पक्राउ गरिएको हो। उनलाई अदालतको फैसला कार्यान्वयनका लागि नियन्त्रणमा लिइएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

भण्डारीविरुद्ध कञ्चनपुरका किरण विष्टले गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गर्दै एक महिना सात दिन कैद र १२ हजार १०० रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध भण्डारीले उच्च अदालतमा पुनरावेदन दिएका थिए। तर, उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले गत चैत २२ गते जिल्ला अदालतको फैसला सदर गरेपछि उक्त निर्णय कार्यान्वयनको प्रक्रियामा गएको हो।

प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।

विहीबार, १८ असार २०८३, १० : ५३

प्रतिक्रिया