काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग बिहीबार भएको शिष्टाचार भेटमा अध्यक्ष भट्टले सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका प्राथमिकताअनुसार पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि आवश्यक पहल गरिने बताए।
उनले पुँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीचको सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गरे।
अध्यक्ष भट्टले बजारमा पारदर्शिता, सुशासन, लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगलाई बोर्डको प्राथमिकतामा राखिने स्पष्ट पारे। पुँजी बजारलाई मुलुकको आर्थिक विकासको प्रभावकारी आधारका रूपमा स्थापित गर्न सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
भेटका क्रममा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले अध्यक्ष भट्टलाई सफल कार्यकालको शुभकामना दिँदै पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत र संरचनागत सुधारका लागि एसोसिएसनले रचनात्मक सुझाव र आवश्यक सहयोग गर्न तयार रहेको बताए।
छलफलमा सरकारले बजेटमार्फत घोषणा गरेका पुँजी बजारसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा पुँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा पनि विचारविमर्श भएको एसोसिएसनले जनाएको छ।
एसोसिएसनले अध्यक्ष भट्टको नेतृत्वमा धितोपत्र बोर्डले पुँजी बजार सुधारको प्रक्रियालाई थप गति दिने, लगानीकर्ताको विश्वास मजबुत बनाउने तथा नेपालको आर्थिक विकासमा पुँजी बजारको योगदान अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया