मार्जिन कारोबारका लागि ३ अर्ब कर्जा लिंदै नासा सेक्युरिटिज

विहीबार, १८ असार २०८३, १३ : ५२

काठमाडौं - पछिल्लो समय नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा बढी कर्जाका लागि रेटिङ अनिवार्य गरेपछि धितोपत्र दलाल कम्पनीहरुले कर्जा रेटिङ गराउने क्रम तीव्र बनाएका छन् । सोही क्रममा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले पनि मार्जिन कारोबार विस्तारका लागि ३ अर्ब रुपैयाँ बैंक कर्जा लिन रेटिङ गराएको छ । यसअघि भिजन सेक्युरिटिजले पनि डेढ अर्ब रुपैयाँ कर्जाका लागि रेटिङ गराएको थियो ।

केयर रेटिङ्स नेपाल लिमिटेडले नासाको १ करोड १० लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि ‘केयर–एनपी ए माइनस’ तथा २ अर्ब ९८ करोड ९० लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि ‘केयर–एनपी ए२ प्लस’ रेटिङ प्रदान गरेको हो । कम्पनीले मुख्यतः मार्जिन ट्रेडिङ सुविधा विस्तारका लागि उक्त कर्जा रेटिङ गराएको हो ।

नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौडेलका अनुसार नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार ५० करोड रुपैयाँभन्दा बढी कर्जा लिन रेटिङ अनिवार्य हुने भएकाले कम्पनीले रेटिङ प्रक्रिया पूरा गरेको हो । “पहिले हामीले सीमित मात्रामा मार्जिन कर्जा प्रवाह गरेका थियौँ । अब ३ अर्ब रुपैयाँसम्म लगानी गर्ने तयारी गरेका छौँ । त्यसमध्ये हालसम्म करिब १ अर्ब रुपैयाँ ग्राहकलाई प्रवाह गरिसकेका छौँ,” पौडेलले बताए ।

उनका अनुसार कम्पनीले लगानीकर्ताका लागि मार्जिन कर्जामा मासिक १ प्रतिशतका दरले ब्याज लिने गरेको बताए । “यदि ग्राहकले एकैपटक दुई–तीन महिनाका लागि सेवा लिन्छन् भने ब्याजदरमा केही छुट दिने व्यवस्था पनि गरेका छौँ,” उनले भने ।

नासाले सेयर खरिद–बिक्री कारोबारको आधारमा ६ प्रतिशतभन्दा बढी बजार हिस्सा कायम राख्दै आएको छ । सन् २०२६ को अप्रिल मध्यसम्म कम्पनीको बजार हिस्सा ६.५ प्रतिशत रहेको थियो । व्यापक ग्राहक आधार, खुद्रा लगानीकर्तादेखि संस्थागत तथा उच्च सम्पत्ति भएका लगानीकर्तासम्मको पहुँचले कम्पनीको व्यवसायिक स्थायित्वलाई थप बलियो बनाएको उल्लेख छ ।


 

विहीबार, १८ असार २०८३, १३ : ५२

प्रतिक्रिया