काठमाडौं- यातायात व्यवस्था विभागले इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाएको छ। विभागले बिहीबार जारी गरेको सूचनाअनुसार नयाँ भाडादर २०८३ असार १७ गतेदेखि लागू हुनेछ।
विभागका अनुसार सार्वजनिक सवारीको भाडा समायोजनका लागि लागू गरिएको वैज्ञानिक प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढे वा घटेमा भाडादर स्वतः समायोजन गर्ने व्यवस्था छ।
पछिल्लो भाडा समायोजनका बेला डिजेलको औसत बजार मूल्य प्रतिलिटर १२५ रुपैयाँ ८३ पैसा रहेकोमा हाल ११३ रुपैयाँ ८३ पैसामा झरेपछि भाडा पुनः समायोजन गरिएको विभागले जनाएको छ।
विभागका अनुसार वैज्ञानिक मापदण्डअनुसार यात्रुवाहक सार्वजनिक सवारी, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक तथा तराईका मार्गमा सञ्चालन हुने मालवाहक सवारीको भाडा क्रमशः ६.५ प्रतिशत, १२.१ प्रतिशत र १४.३ प्रतिशतसम्म घट्नुपर्ने अवस्था थियो।
तर, तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार (मन्त्रिपरिषद्) ले यसअघि सबै प्रकारका सार्वजनिक सवारीको भाडा ५ प्रतिशत मात्र वृद्धि गर्ने निर्णय गरेको थियो।
विभागले त्यसबेला पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भाडा समायोजन तथा हाल पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीलाई समेत आधार मानेर यात्रुवाहक र मालवाहक दुवै प्रकारका अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा २ प्रतिशतले घटाउने निर्णय गरिएको जनाएको छ।
प्रतिक्रिया